काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले इतिहासका उपलब्धि खोस्न चाहने तŒवलाई छुट दिन नसकिने बताएका छन् । लाखौं कार्यकर्ताको त्यागले प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्र उल्ट्याउने छुट कुनै पनि हालतमा दिन नसकिने उनले प्रष्ट पारे ।
तत्कालीन माओवादी जनयुद्धमा मारिएका सुरेश वाग्ले ‘वासु’को २१ औं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कुनै पनि नामका प्रतिक्रियावादी आएर निरंकुशताको जाँतोमा पिस्न दिने काम स्वीकार्य नहुने बताए । उनले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन सफल भए पनि नैतिक चरित्र र आचरणका दृष्टिले खस्किएको स्वीकार गरे । ‘हामीले कम्युनिष्ट आन्दोलन लोकप्रिय त बनाएको छौं, हामीले अत्यधिक बहुमत प्राप्त गरेर लोकप्रिय मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त पु¥याएका छौं,’ उनले भने, ‘तर वैचारिक निष्ठाको दृष्टि, वैचारिक स्पष्टताको दृष्टिले, राजनीतिक परिपक्वता, नैतिक चरित्र र आचरणको दृष्टिले हेर्दा हामी निकै खस्किएका छौं भन्ने मलाई लाग्छ ।’
पार्टीलाई सांगठनिक विधिमा लगेर जनताको पार्टी बनाउन जरुरी भएको उनले बताए । सरकार र पार्टीबाट केही कमजोरी भए सच्याउन तयार रहेको प्रष्ट पार्दै उनले भने, ‘कहीँ न कहीँ पार्टी एकता प्रक्रिया ढिलो भएकोमा चिन्ता, सरकारले प्रभावकारी रूपमा छिटोछिटो काम गरोस् भन्ने चिन्ता जताततै सुन्छौं । राम्रा काम गर्न नसकेको होइन, तर जनताको आशा, अपेक्षाअनुरूप काम भएन भन्नेतर्फ हाम्रो ध्यान गम्भीर रूपमा गएको छ ।’
उनले देशव्यापी रूपमा कार्यक्रम लिएर कार्यकर्ता र जनताको पंक्तिमा जाने अन्तिम तयारीमा रहेको जानकारीसमेत दिए । आफूभित्र केही कमजोरी भए सच्याउन तयार रहेको उनको भनाइ थियो । ‘तर इतिहासको चक्कालाई पछाडि धकेल्ने, हजारौं जनताको बलिदान र लाखौं कार्यकर्ताको त्यागले प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्र उल्ट्याउने छुट कुनै पनि हालतमा दिन सकिन्न,’ उनले भने, ‘त्यो गरेमा मात्रै सुरेश वाग्ले लगायतको साँचो सम्झना गरेको ठहर्नेछ ।’
पछिल्लो समय पार्टीभित्रै पनि आत्मकेन्द्रित, व्यक्तिवादी, आदर्शबाट विचलनतिर जान थालेको आभास हुन थालेको उनले बताए । ‘यस्तो बेला कमरेड वासुसहित अन्य क्रान्तिकारीलाई स्मरण गर्दैछौं भने यो पार्टीलाई फेरि क्रान्तिकारी, आदर्शपूर्ण बनाउने, यो पार्टीका सबै सदस्य र नेतालाई समाजका सबैले स्वीकार्ने पार्टी बनाउने आवश्यकतामा जोड दिनु जरुरी छ,’ उनले भने । यसबाट नै पार्टीलाई समाजवादी आदर्शतर्फ उन्मुख बनाउन सकिने उनको भनाइ थियो ।
क्रान्तिकारी आन्दोलन र यसको नेतृत्वलाई बदनाम गर्न धेरै तल्लोस्तरमा ओर्लेर गाली गलौजसमेत भइरहेका चर्चा गर्दै उनले भने, ‘कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा स्यालको तुलना सिंहसँग गर्न सकिन्न । स्याल स्याल नै रहन्छ, सिंह सिंह नै रहन्छ ।’
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रिया जतिसक्दो चाँडो सक्ने तयारी भइरहेको बताए । उनले शहीदको सपना पूरा गर्न नयाँ संकल्पसहित अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाए । ‘हामीले पार्टीलाई जति गतिशील बनाउन सक्छौं त्यति नै शहीद सुरेश वाग्लेको सपना पूरा गर्न सक्छौं,’ उनले भने ।
पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको सम्पूर्ण काम टुंगो लागेपछि पार्टीले जनताको आवश्यकतानुसार काम गर्ने प्रतिबद्धता जनाए ।



















