सरकार निरंकुश भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का विभिन्न सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरूका लागि भक्तपुरमा शुक्रबार सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा देउवाले दुई तिहाइको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सेना, प्रहरीलाई आफूमातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको उनको आरोप थियो । देश र जनताको सेवामा लाग्नुपर्ने सेना, प्रहरी र कर्मचारीलाई सरकारले पार्टीको जस्तो बनाउन खोजेको उनको आरोप छ । 

‘जनताले तिरेको करबाट तलब खाने पुलिस, आर्मी, कर्मचारीलाई तर्साएर–धम्क्याएर नेकपाप्रति प्रतिबद्ध बनाउन खोजिँदै छ,’ उनले भने, ‘सरकार बदलिनु स्वाभाविक कुरा हो । तर, सिष्टम बदल्न खोज्नु सामान्य होइन ।’

सरकारले संविधान मिच्दै र जनताका हक अधिकार कुण्ठित गर्दै गए संसद्मा संघर्षरत विपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने चेतावनी देउवाले दिएका छन् । 

उनले पार्टीलाई चुनावमा हराउने नेता–कार्यकर्ताहरूलाई कारबाही गरिछाड्ने प्रतिबद्धता दोहो¥याए । सभापति देउवाले अन्तरघातीलाई कारबाही गर्दा कसैले रोक्न खोजे उनीहरूलाई आफैंले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक गर्ने चेतावनी दिए । 

‘पार्टीलाई हराउने, अन्तरघात गर्नेमाथि कारबाही गर्न खोज्दा कसले रोक्न खोज्दो रहेछ, त्यसको अनुहार बाहिर आउँछ–आउँछ,’ उनले भने, ‘कसले रोक्दो रहेछ, मै ल्याउँछु बाहिर । त्यसको अनुहार छर्लंग आउँछ, जनताका अगाडि आउँछ । पार्टी अगाडि आउँछ अनि थाहा हुन्छ ।’ चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही नगरिए फेरि पनि कांग्रेस हार्ने उनको भनाइ थियो । 

देउवाले पार्टीमा एकता हराउँदै गएकाले कांग्रेस चुनावमा हारेको र आगामी उपनिर्वाचन जित्न पार्टीभित्र एकता आवश्यक रहेको बताए । उनले अन्तरघातको रोगबाट पार्टीलाई मुक्त गर्न नडराउन नेताहरूसँग आग्रह गर्दै प्रश्न गरे, ‘पार्टी किन हा¥यो ? के साँच्चै पार्टीमा एकता छ, एकता हुँदाहुँदै हारेको हो ? आफू नलडे अर्कालाई हराउने ? पार्टीमा एकता हराउन थालेपछि कहाँबाट पार्टी जित्छ ?’ उनले पार्टी एक हुन जरुरी रहेको बताए ।  

समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता सञ्चालनमा असफल भएपछि कम्युनिष्टहरूले प्रतिगमन आउन लागेको हौवा फैलाएको टिप्पणी गरे । ‘प्रतिगमन आउन लाग्यो भनेर कम्युनिष्ट नेताहरू अत्तालिन थालेको देखिन्छ । यो के को परिणाम हो ?,’ प्रश्न गर्दै उनले भने, ‘यो सरासर कम्युनिष्ट सरकारको पूर्ण असफलताको परिणाम हो । दुई तिहाइ बहुमत पाएर पनि यो सरकार असफल भएको छ ।’ 

संसद्मा दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भएको दुई वर्ष पनि नपुग्दै जनतामा छाएको निराशाले कम्युनिष्टहरू देश चलाउन अक्षम रहेको पुष्टि भएको पौडेलको भनाइ थियो । उनले भने, ‘सत्तारूढ दलका शीर्ष तहका नेताहरूले बेलाबेलामा भनिरहेका छन् । हामीले काम गर्न सकेनौं, प्रतिक्रियावादी शक्तिहरूले मुन्टो उठाए । प्रतिगामीले मुन्टो उठाए । यो कम्युनिष्टहरूको अक्षमता हो ।’

मुलुकका प्रधानमन्त्री तथा सत्तारूढ दलका ठूला नेताले व्यवस्थामाथि आक्रमण सुरु भयो भन्दै हारगुहार गर्न थालेकोमा पौडेलले आपत्ति जनाए । ‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर हारगुहार गर्न थाल्नुभएको छ । किन चलाइँदै छ प्रतिगमनको हौवा ? कतै असफलता ढाकछोप गर्नका लागि त होइन,’ उनले भने ।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिए । उनले पार्टीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर जनताको आकर्षणको केन्द्र बनाउनुपर्ने बताए । उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले आफ्नै पीडा र दोषारोपणबाट मुक्त भएर पार्टीलाई जनतासँग जोड्नुपर्ने बताए । महामन्त्री डा. शशांक कोइरालाले सरकार जनताका स्वतन्त्र संस्थाहरूको अधिकार खोस्ने पक्षमा देखिएको आरोप लगाउँदै मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्ताले विगतका कमजोरी सच्याएर पार्टीमा सन्तुलन कायम गर्दै राज्यका सबै निकायलाई कब्जा गर्ने सरकारको कदमविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए । 

प्रशिक्षणमा प्रदेश–३ का १३ जिल्लामध्ये सात जिल्ला–काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका २८१ महाधिवेशन प्रतिनिधि सहभागी छन् । प्रदेश–३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण हुने जनाइएको छ ।