अध्यात्म : धर्मभूमि नेपाल

कृतेसत्यपुरी ज्ञेया त्रेतायां चतपोवनी

द्वापरे मुक्तिकाुनामाकलौनेपालिकापुरी

ने नाम्नामुनिनायस्मात्पालितं पुण्यकर्मणा 

क्षेत्रं हिमवतःकुक्षौ ततोनेपालसंज्ञकम्

(हिमवत्खण्ड, स्कन्दपुराण)

ने नामक तपस्वी मुनिले बस्ती बसालेकाले हाम्रो देशलाई नेपाल भनिएको हो । युगाँैदेखि यसको छुट्टै अस्तित्व रहेको थियो । संस्कृत भाषामा नयेन पाल्यते इति नयपालः भनिन्छ । न्यायद्वारा धर्मको समेत रक्षा गरी जहाँ राज्य सञ्चालन हुन्छ त्यो राज्यलाई नेपाल भनिएको हो भनी शास्त्रकारहरूले टिप्पणी गरेका छन् । संस्कृत भाषा नयपाल अपभ्रंश हुँदा नेपाल भएको भन्नेहरू पनि धेरै छन् ।

यो हिमालयको काखमा रहेको छ । यो शिव र शक्ति अर्थात् महादेव र पार्वतीको वासस्थल हो । सतीदेवीले आफ्नो प्राण त्याग गरेपछि शिवकै इच्छाअनुसार उनले हिमालय पर्वतराजपुत्री भएर यसै हिमालय क्षेत्रमा जन्म लिई श्रीशिवलाई पुनःप्राप्त गरेकी हुन् । सतीदेवीको पछिल्लो रूप हिमालय पर्वतराज महारानी मेनकाको गर्भबाट पार्वतीको रूपमा जन्म भएको हो । हिमालयको शिखर सगरमाथाको प्राचीन नाम व्योमकुट हो, जुन विश्वमै सर्वोच्च छ । सगरमाथा नामकरण धेरैपछि हाल आएर मात्र भएको हो । पर्वतपुत्री भएकीले देवीको नाम पार्वती भएको हो । उनलाई शिवा, भद्रा, उमा आदि नामले पनि पुकारिन्छ ।

श्रीमद्भागवत र देवीभागवत् पुराणहरूमा कलीयुगीन राजा, महाराजाहरूको चर्चा भएको छ । राजनीतिकरूपमा दृष्टिले नेपालमा पहिले गोपाल वंशीहरूले राज्य गरेका थिए । भुक्तमान, जय गुप्त, परम गुप्त, यज्ञ गुप्त आदि राजाहरूले ५०० वर्षसम्म राज्य गरे । त्यसपछि महिपाल (जसलाई अहिर भनिन्छ) हरूले शासन गरे । सुरुमा नेपाल भन्नाले काठमाडौं उपत्यका मात्रलाई जनाउँथ्यो । मूलसिंह, जय सिंह, भुवन सिंह राजाहरूले झण्डै १०० वर्ष राज्य गरेपछि उपत्यकाको राज्यसञ्चालनको जिम्मा किरातहरूले लिए । प्राचीन शासकहरूभँैm किरातीहरू पनि शिवभक्त नै थिए । करिव हजार वर्षसम्म यिनीहरूले राज्य गरे । यलम्वरलाई किरात कालिक प्रथम शासक मानिएको कुरा इतिहासविद्हरू 

बताउँछन् । बौद्ध धर्मको पनि वाहुल्य भएको कुरा विदेशी लेखक राइटले बताएका छन् । काठमाडौंमा स्वयम्भूचैत्य र बौद्धस्तूपहरू भव्यरूपमा निर्माण हुनुले यो कुराको थप पुष्टि हुन्छ । नेपालको इतिहास स्थापना गर्ने कार्यमा महामुनि मञ्जुश्रीको नाम अग्रस्थानमा रहेको पाइन्छ ।

पशुपति मन्दिर परिसरमा स्थापित विसं ७९० को अभिलेखमा लिच्छवि वंशका प्रथम राजा जयदेव प्रथम भनिएको छ । प्रसिद्ध कैलाशकुट भवन, चाँगुनारायणको मन्दिर, बुढानीलकण्ठस्थान आदिको स्थापनामा मानदेव, अंशुवर्मा एवं विष्णु गुप्त आदिको नाम अग्रणी रूपमा आउँछ । इतिहासले राजा मानदेवलाई प्रथम लिच्छवि राजा मानेको छ । राजामानदेव आपूm शैव थिए र उनले धेरै शिवमन्दिरहरू निर्माण गर्न लगाएका थिए । उनका पालामा धेरै बौद्ध स्तूपहरूको पनि निर्माण भएको थियो । जे होस्, मानदेव, अंशुवर्मा एवं नरेन्द्रदेवका पालामा हिन्दुधर्म, संस्कृतिको प्रचार प्रसार व्यापकरूपमा भएको थियो ।

विसं ९३७ सँंगसंँगै नेपाल मल्लकालिक समयमा अवतरण हुन्छ । मल्ल शासन कालका प्रथम राजा अरि मल्ल उनका छोरा अभय मल्ल र यसपछि क्रमशः जयस्थिति मल्लको अभ्युदय भएको पाइन्छ । यक्ष मल्लको समयमा आइपुग्दा नेपालको सीमाकंन विस्तृत भएको र छोराहरूलाई राज्य सुम्पदा काठमाडौं, भक्तपुर र पाटन छुट्टिएको देखिन्छ । भक्तपुरमा भुपतिन्द्र मल्लद्वारा बनाउँन लगाइएका कला कौशलले पूर्ण मन्दिरहरू धेरै छन् । पाटनमा सिद्धिनरसिंह मल्लले बनाउन लगाएका कलाकारिताले पूर्ण भएका मन्दिरहरू धेरै छन् । 

काठमाडौंमा प्रताप मल्लका पालामा बनेका सयाँैं मन्दिरहरू छन् भने रानीपोखरी पनि उनकै पालामा बनेको हो । साविक समयमा नेपालका शासकहरू सिधै भगवानसँग वार्ता गर्न सक्थे भनिन्छ । सपनामा दर्शन हुने, न्यायको, नैतिकताको आधारमा राज्य सञ्चालन हुने, आवश्यकताअनुसार ईश्वरकै सदिच्छाअनुसार मठमन्दिरहरू बन्ने गरेका थिए । हनुमानढोका, कुमारीस्थान, प्रसिद्ध कालभैरवको मूर्तिको स्थापना कार्यले हाम्रो मल्लकालिक इतिहास दैवीशक्तिमा पूर्ण थियो भन्न सकिन्छ । सोह्राँैं शताव्दीमा आइपुग्दा मल्ल शासकहरूमा आपसी वैमनस्यता देखिएकाले उनीहरूको आफ्नो शक्ति पनि गुम भएको स्पष्ट हुन्छ ।

विसं १८२५ मा आइपुग्दा गोर्खाका पृथ्वीनारायण शाहले काठमाडौं, भक्तपुर एवं ललितपुरका अन्तिम मल्ल राजाहरू क्रमशः जयप्रकाश मल्ल, रणजित मल्ल र तेजनरसिंह मल्लमाथि विजय प्राप्त गरी नेपालको एकीकरण अभियान प्रारम्भ गरेका हुन् । प्रत्येक राष्ट्रको आफ्नो इतिहास हुन्छ । युगौँयुगदेखि धर्म सम्पदाको रूपमा रहीआएको नेपाल एक पवित्र धार्मिक क्षेत्र हो । धार्मिक दृष्टिले सहिष्णु क्षेत्र हो ।

हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको वर्चस्व कायम रहेको छ । सत्य, त्रेता, द्वापरदेखि करिब ५ हजार वर्षदेखि आरम्भ भएको कलियुगमा पनि यो तपोभूमिकै रूपमा रहेको छ । नेपाल माहात्म्य, हिमवत्खण्ड स्कन्दपुराणले ने मुनिको नामबाट कलियुगीन नेपालको नामकरण भएको चर्चा गरेको छ । आधुनिक मेचीदेखि महाकालीसम्मको सीमानाभूमि नेपाल विश्वकै एउटै नमुना क्षेत्र हो । पृथ्वीको सबैभन्दा ठूलो एशिया महाद्वीपको मध्यभागमा रहेको यो मुलुक भारत र चीनकाबीचमा अवस्थित छ । आर्थिक विकासको दृष्टिले निकै अगाडि बढेका दुई छिमेकी भारत र चीनसँग यसको विशेष सम्बन्ध रहिआएको छ । 

सरदर १९३ किमी उत्तरदक्षिण चौडाइ र पूर्वपश्चिम सरदर ८८५ किमी लम्बाइ क्षेत्र ओगटेको यसको क्षेत्र पूर्वी भागको अपेक्षा पश्चिम भाग फराकिलो छ । भौगोलिक दृष्टिले विश्वमानचित्रमा सानो आकार भए पनि विश्वको शिखर सगरमाथाको कारण र विश्वमै नौलो प्राकृतिक, सांस्कृतिक, सामाजिक परिवेश भएकाले यो मुलुकप्रति सबैको चासो बढ्नु स्वाभाविक हो । यसको कूल भूभागको झण्डै ७७ प्रतिशत उच्चहिमाली क्षेत्र र पहाडी क्षेत्र तथा झण्डै २३ प्रतिशत क्षेत्र तराइ भाग (समथर) मा पर्छ । धरातलीय आधारमा यसलाई हिमाली, पहाडी र तराई गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ भने अपार जलस्रोतको भण्डार रहेको यो मुलुक पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

उत्तर तिब्बततर्पm सीमाना २५ किमीदेखि ५० किमिसम्मको चौडाइमा रहेको यसको क्षेत्रले करिब १५ प्रतिशत भूभाग ओगटेको छ भने अग्ला हिमशिखर कञ्चनजंघा, मकालु, ल्होत्से, मनासलु, धवलागिरिसम्म यसै क्षेत्रमा पर्छन् । शेर्पा, थकाली, भोटे, आदिको अधिक बस्ती यो क्षेत्रमा आधुनिक विकासको न्यानो घाम लाग्न सकेको छैन । बौद्धधर्मावलम्बीहरूको अधिकता रहेको यो हिमाली क्षेत्रमा सञ्चार, यातायात, शिक्षा, विद्युत्जस्ता विकासका पूर्वाधार तयार गर्न ढिला भइसकेको छ । 

७७ जिल्लामध्ये १६ वटा जिल्ला ओगटेको हिमाली क्षेत्रको संस्कृति छुट्टै शैलीको भएकाले नेपालको पहाडी क्षेत्र आफ्नै महŒवको छ । समुद्रबाट टाढा रहेका कारण तेस्रो मुलुकसँग सम्पर्क गर्न कठिनाइ भएको यो क्षेत्र समुद्र सतहदेखि ६ हजारदेखि ३ हजार मिटरसम्मको उचाइमा रहेको छ । पूर्वपश्चिम कडा चट्टानीभाग रहेको यो क्षेत्र ७५ किमिदेखि १२५ किमी चौडाइ पूर्वपश्चिम पैmलिएको छ । यो पहाडी क्षेत्रले कूल भूभागको ६८ प्रतिशत क्षेत्र ओगटेको छ । महाभारतको लेक, रारा ताल, फेवा ताल, सिवालिक पहाडजस्ता ऐतिहासिक धरोहर बोकेको पहाडी क्षेत्रकै कारण यो मुलुकलाई पहाडी मुलुक भनिएको छ । 

गण्डकी, कोशी, कर्णाली, सुनकोशी, त्रिशूली, महाकाली जस्ता अतिपवित्र नदीहरू यहीँ छन् । स्वर्गबाट झरेका, शिवजटाबाट बगेका पावन नदीनालाहरूले हिमाली क्षेत्रदेखि यस भूक्षेत्रसम्मलाई पवित्र पार्दै भारतको प्रसिद्ध क्षेत्र गंगासागरसम्म पुगेका छन् । अयोध्याको क्षेत्रमा बग्ने पवित्र सरयु नदी नेपाल पश्चिमक्षेत्रकी महाकाली हुन् । वागमती, विष्णुमती आजभोलि प्रदूषित देखिए पनि तिनको उद्गमक्षेत्र शिवपुरी स्वयं शिवजटा नै हो । गहिरो अरुण, पूर्वको कोशी अनि वहुचर्चित मेलम्ची पनि यिनै पहाडी क्षेत्रबाट बगेका छन् ।

राजधानी काठमाडौं, पर्यटकीय नगरी पोखरा, विशाल क्षेत्र ओगटेको सुर्खेत र अत्यन्त रमणीय क्षेत्र दिपायलले नपालको भुवनोटलाई हराभरा बनाएका छन् । सिन्धुलीको सभ्यतादेखि रुम्जाटार, बेलटार, मङ्गलटार, पाँचखाल हुंँदै पश्चिम रेसुङ्गादेखि रुरुसम्मको क्षेत्र र पवित्र आर्यघाटदेखि देवघाटसम्मको क्षेत्र प्रवेश गर्दासम्म पनि स्वर्णीम आनन्दको अनुभूति हुन्छ । जनकपुरको जानकी क्षेत्रदेखि नवलपरासीको त्रिवेणी क्षेत्र र डडेलधुराकी उग्रतारादेखि डोटीकी शैलेश्वरीसम्मले यो भूभागलाई देवभूमि बनाएको छ । 

अधिराज्यको दुई तिहाइ भूभागओगटेको पहाडी क्षेत्रका ३९ वटा जिल्ला रहेका छन् भने पूर्वमा माइपोखरीदेखि पश्चिममा ब्रहृमदेव क्षेत्रसम्म पावन र पवित्र छ । ब्राहृमण, क्षेत्री, किरात, मगर, नेवार, तामाङ आदि विभिन्न जातजातिका मानिसहरू आपसी समन्वयका साथ यस क्षेत्रमा बस्दैआएका छन् । जातिपातिमा वैमनस्यता कहिल्यै भएको छ्रैन ।

दक्षिण समथर भूभाग मुलुकको झण्डै १७ प्रतिशतले ओगटेको तराई क्षेत्र हो । हिमशृंखलाहरूको विशाल समथर आँगन हो यो । आँगनविनाको घरको शोभा राम्रो हुँदैन । अन्नको भण्डार र वनको सदुपयोग गर्ने हो भने आर्थिक दृष्टिमा तराईको विशेष योगदान रहेको छ । भारतसितको सम्बन्ध, आयातनिर्यात व्यापार र राजस्वको स्रोत क्षेत्र तराई नै हो । कृषिको लागि यो क्षेत्र उर्वर छ । औद्योगिक कलकारखाना, यातायातको सुगमता, पूर्वाधार तयार गर्न सजिलो, जीवनस्तर सरल आदिको कारण तराई क्षेत्र नेपालको आर्थिक विकासको अर्को आधार नै हो । 

मैथिली, भोजपुरी, अवधी, थारु आदि भाषाको बाहुल्य रहेको यो क्षेत्रमा औलो उन्मूलनपछि झण्डै ६ दशक यतादेखि पहाडी एवं हिमाली भेगका मानिसहरू बसाइँ सरेर बस्दै आएका छन् । आपसी कटुता र वैमनस्यतालाई बिर्सेर सहयोगी, सद्भाव र आपसी स्नेहका साथ सबै मिलीजुली बस्दैआएका छन् । विराटनगर, वीरगञ्ज, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, कञ्चनपुर जस्ता औद्योगिक नगरीहरू यस क्षेत्रमा रहेका छन् । व्यापार, वाणिज्यका दृष्टिले यी शहरहरू उन्नत देखिएका छन् । यस क्षेत्रमा हावापानीको दृष्टिले केही बढी गर्मी महसुस हुन्छ ।

नेपालको प्राचीन इतिहास हेर्दा यसको अस्तित्व अर्वाचीनसम्म भेटिन्छ । सत्ययुगमा यसको नाम सत्यवती थियो । रामराज्यका समय त्रेतामा यसको नाम तपोवन रहन पुग्यो । महाभारतकालिक द्वापरमा यसको नाम मुक्तिक्षेत्र रहन गयो । हालको समयमा यसको नाम नेपाल रहेको छ । सुगौली सन्धिपूर्व यसको क्षेत्र विशाल थियो । ईश्वरको नवौंँ अवतार बुद्धको जन्मभूमि नेपाल तराई क्षेत्रमा छ । पवित्र लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगत्ले नियालेर हेरिरहेछ । अहिंसा परमो धर्म नेपालको शान्ति, मैत्री र अहिंसा विश्वको लागि उदाहरणीय छ । 

सबै वैदिक सनातन धर्मका आदिमस्रष्टा विश्वसाहित्यका आदिकवि वेदव्यास, महर्षि वाल्मीकिसमेतको तपस्थली नेपालभूमि नै हो । त्रेताका सूर्यवंशी राम आफ्ना पितृउद्धार गर्न नेपालको पश्चिम क्षेत्र डोटीमा आएका थिए । साथमा रहेकी सीताको नामले सेती नदी अहिलेसम्म बग्दैछ । विश्वसाहित्यका प्रणेता व्यास, वाल्मीकिलगायत उच्च विशिष्ट व्यक्तिहरूबाट तयार भएको वेद, उपनिषत्, पुराणका ग्रन्थ तथा हिन्दू, बौद्ध सभ्यतालाई बढो भरपर्दो रूपले व्यवस्थित गरिराखेको छ एसियन सिभिलाइजेशन म्युजियम सिङ्गापुरले ! 

प्राचीन र अर्वाचीन धरोहर अनि पूरै एसिया क्षेत्रको सभ्यतालाई एसिएम (एसियन सिभिलाइजेशन म्युजियम) मा देख्न सकिन्छ । पानीको मुहान ठ्याम्मै नभएको सिङ्गापुरमा पाइपबाट मलेसियादेखि उच्च प्रविधिको उपयोग गरी पानी ल्याइएको छ र हरेक सडकमा रहेका धाराहरूबाट कीटाणुरहित पानी सिधै पिउन मिल्छ । हिन्दु धर्मअनुसारको सत्संग, पूजा, अनुष्ठान हरेक शनिबार अमेरिका आदि मुलुकहरूमा आयोजना हुने गर्छ । साइत हेरेर बिहे, ब्रतबन्ध आदि कार्य गर्ने गरिन्छ । पूर्वी सभ्यताको खोजी गर्दैछन् पश्चिमाहरू ! उनीहरूको अध्ययन क्षेत्र रहेको छ नेपाल !

पाकिस्तानमा हिन्दु तीर्थहरू धेरै छन् । तक्षशिला, शिखतीर्थ, हिन्दु ॐकार परिवार भित्रकै क्षेत्र हुन् । बङ्गलादेशमा शिव र शक्तिका मन्दिर र भुटान एवं श्रीलंकामा हिन्दु, बुद्ध जनिने तीर्थ धेरै छन् । हिन्दुसभ्यता अति पुरानो हो । पाश्चात्य प्रसिद्ध विद्वान् म्याक्स मुलरले हिन्दु सभ्यताको जग वेदको लेखन आजभन्दा छ हजार वर्षपहिले भएको भनेर स्वीकारेका छन् । 

अन्य धर्महरू पछि आएका र चलेका हुन् । वैदिक सनातन धर्म विश्वकै प्राचीन् मानिएको छ । ईश्वरको सृष्टिमा मानव सभ्यताको सुरुवातसँगै सुरु भएको वैदिक संस्कृतिको उद्गमस्थल नेपालभूमि नै हो । यसको संरक्षण र सम्बर्धन हामीले गर्नुपर्ने हुन्छ । प्रसिद्ध चारधाम र ६४ ज्योतिर्लिङ्गको उद्गमस्थल पनि नेपाल नै हो । यसैले सबैले भनौँ हाम्रो नेपाल, हामी नेपाली, हाम्रो भूगोल, हाम्रो गौरव !