काठमाडौं । सधैंझैं यस वर्ष पनि नजिकै आउँदै गरेको दशैंमा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूले अग्रिम टिकट बुकिङको सुविधा लिनसक्ने भएका छन् । अग्रिम टिकट बुकिङ कहिले सुरु गर्ने भन्ने विषयमा बुधबार छलफल र निर्णय हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।
अग्रिम टिकट बुकिङका लागि यातायात व्यवसायीहरूले भाडादर समायोजन गर्नुपर्ने र सडक मर्मत सम्भार गर्नुपर्ने सर्त अघि सारेका छन् ।
सरकारले दशैंमा घर फर्किन चाहनेहरूका लागि भदौ २५ गतेबाट अग्रिम टिकट बुकिङ सुरु गर्ने प्रस्ताव व्यवसायीहरूलाई गरेको छ । त्यहीअनुरूप बुधबार व्यवसायीहरूसँग छलफल र निर्णय हुने विभागको भनाइ छ । विभागका अनुसार व्यवसायीहरूले आफ्नो केही माग भएकोले त्यो पूरा गर्ने प्रतिबद्धता भए अग्रिम टिकट बुकिङ सुरु गर्ने जनाएका छन् । व्यवसायीहरूसँग सामान्य छलफल भएको र उनीहरूले वैज्ञानिक भाडादर समयोजन गर्नुपर्ने मुख्य माग राखेको विभागको भनाइ छ ।
सात वर्षयता वैज्ञानिक भाडादर समायोजन नभएकोेले सरकारले त्यसमा विचार पु¥याए आफूहरू अग्रिम टिकट बुकिङ गर्न तयार रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । २०६९ सालमा समायोजन भएयता वैज्ञानिक भाडादर समायोजन नभएको उनको भनाइ छ । आफूहरूको माग भाडा बढाउनुपर्छ भन्ने नभई समायोजन हुनुपर्छ भन्ने रहेको उनको भनाइ छ । सिटौलाले भने, ‘हामीले भाडा बढाउनुपर्छ भनेका छैनौं । भाडा समायोजनको काम सरकारको हो । समायोजनपछि बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।’
केही महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो तर चौतर्फी विरोध भएपछि पाँच घण्टा नबित्दै फिर्ता लिएको थियो । अग्रिम टिकट बुकिङको समय आएपछि व्यवसायीहरूले भाडादर समायोजनको कुरा उठाउन थालेका छन् ।
विभिन्न बहानामा सरकारले भाडादर समायोजन पछिसार्दै लगेकोले यसपालि भने भाडादर समायोजन हुनैपर्ने सिटौलाको भनाइ छ । भाडादर समायोजन र बिग्रिएका सडक मर्मत सम्भार गरे अग्रिम टिकट खोल्न आफूहरू तयार रहेको उनले बताए । सिटौलाले भने, ‘हाम्रा मागहरू पूरा भएपछि टिकट खुलाइहाल्छौं ।’
विभागका महानिर्देशक हमालले दशैंको मौका छोपेर व्यवसायीले अग्रिम टिकट बुकिङका लागि भाडा वृद्धिको सर्त राखे त्यो मान्य नहुने बताए । सार्वजनिक यातायातमा व्यवसायीको एकाधिकार (सिण्डिकेट) तोडिएका कारण यस वर्षको दशैंमा यात्रुले दुःख नपाउने उनको भनाइ छ । अहिले विभिन्न यातायात कम्पनीहरू प्रतिस्पर्धामा रहेको र रुटमा पनि विगतमा जस्तो एकाधिकार नभएकाले भाडा बढ्ने सम्भावना नरहेको हमालले बताए । उनले भने, ‘हालकै भाडादरमा अग्रिम टिकट खोल्न सहमति जुट्छ, भाडा बढ्दैन ।’



















