काठमाडांै । नेपाल अण्डा उत्पादक संघले देशैभर अण्डाको मूल्यमा एकरूपता ल्याउन पहल गर्ने भएको छ । अण्डाको मूल्यमा एकरूपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकसँग छलफल गरी अण्डाको मूल्यमा एकरूपता कायम गर्ने जनाएको हो । हाल किसानले पाउने ठूलो अण्डाको प्रतिक्रेट २५५ र मध्यम अण्डाको प्रतिक्रेट १७० भए पनि ठाउँअनुसार मूल्य प्रतिक्रेट ३० देखि ४० रुपैया फरक हुने गरेको संघले जनाएको छ । देशैभर अण्डाको मूल्यमा एकरूपता ल्याउन वितरकलाई निश्चित कमिसन निर्धारण गर्न लागिएको अण्डा उतपादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी बताए । उनका अनुसार हाल दैनिक २८ लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ । उत्पादित सबै अण्डा खपत पनि हुने गरेको छ । हाल नेपाली अण्डाको बजार नेपाल मात्रै रहेकोले अण्डाको बजार प्रवद्र्धन आवश्यक रहेको अध्यक्ष केसी बताउँछन् । अण्डाको बढीभन्दा बढी खपत बढाउन सरकारले प्रचारप्रसारका लागि सहयोग गनुपर्ने उनले बताएका छन् । बजार प्रवद्र्धन निकै महँगो हुने भएकोले किसानको पहुँचमा नरहेको उनको भनाइ छ ।
नेपाल अण्डा वितरक संघका महासचिव सूर्यमान शाक्यले भने ३ प्रतिशतभन्दा कम मुनाफामा अण्डा बिक्री गर्न नसकिने बताए । मकैको मूल्यवृद्धि भएको बहानामा दाना उद्योगले दानाको मूल्य बढाउँदा किसानले लागत अनुसारको मूल्य पाउन सकेका छैनन् । प्रतिगोटा अण्डा उत्पादन गर्न १० रुपैयाँ लागत पर्ने भए पनि किसानले ८ रुपैयाभन्दा पाउन नसकेको संघको दाबी छ ।
अण्डा व्यवसायी लोचक कँडेलका अनुसार २०१३÷०१४ सालमा स्व. टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्व कालमा आधुनिक पोल्ट्री व्यवसायको सुरुवात भएको हो । अमेरिकन हेफर इन्टरनेसनल संस्थाले पोल्ट्री क्षेत्रको अन्वेषण र विकासका लागि ब्लायक मिनार्को, रोड आइल्याण्ड, रेड हेगन र ह्वाइट हेगन जातका एकसयवटा ह्याचिङ अण्डा आयात गरी सरकारी ह्याचरीबाट चल्ला उत्पादन गर्ने कार्य सुरु भएको थियो । नेपाल सरकारले २०१५ सालमा न्यू ह्याप्सार अष्र्टोर्लोप जातका १७ सयवटा प्यारेण्ट आयात गरी परवानीपुरमा सेन्ट्रल ह्याचरी स्थापना गरी चल्ला उत्पादन गरी वितरण सुरु गरेको थियो । तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले बेलायतबाट खैरो रंगको अण्डा दिने जातको प्यारेण्ट आयात गर्ने निर्णय गरी २०१७ मा १ हजार न्यू हेम्पशायर जातका कुखुरा नेपाल भिœयाए । त्यसो त नेपालमा २०१७ पुस १७ गते तत्कालीन राजा महेन्द्रले बारा परवानिपुरमा सेन्ट्रल ह्याचरीको उद्घाटन गरेपछि आधुनिक पोल्ट्रीको सुरुवात भएको मानिन्छ । हाल नेपालको पोल्ट्री क्षेत्रको करिब ४ प्रतिशत योगदान रहेको छ भने नेपालको समग्र पोल्ट्री क्षेत्रअन्र्तगत अण्डाको मात्रै १७ प्रतिशत योगदान रहेको छ । प्रति नेपालीले प्रतिबर्ष करिब ६५ वटा अण्डा उपभोग गर्ने गरेका छन् । नेपाल अण्डा उत्पादक संघले स्थापनादेखि नै गैरकानुनी रूपमा आयात हुने सेतो अण्डा नियन्त्रण गर्ने, अण्डाको बजार अवस्थाअनुसार मूल्य निर्धारण गर्ने, सदस्य व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने, फार्मको जैविक सुरक्षा र ढुवानीलाई व्यवस्थित बनाउने कार्य गर्दै आएको छ ।



















