कांग्रेस दोस्रो चरणको जागरण अभियानको तयारीमा

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका कार्यक्रमहरू बुधबार घोषणा गर्दै छ । प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत जागरण अभियानका कार्यक्रम घोषणा हुने जानकारी दिए । 

उनले दोस्रो चरणमा पहिलो चरणका कार्यक्रमभन्दा भिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गरिने बताए । ‘पहिलो चरणमा जे जस्ता कार्यक्रमहरू भए, ठिक तिनै र ठिक त्यस्तै मोडलभन्दा भिन्न मोडलमा भिन्न प्रकृतिको कार्यक्रम प्रस्तावित हुने क्रममा छ,’ प्रवक्ता शर्माले भने ।  

कांग्रेसले भदौ २४ गते पार्टीका संस्थापक नेता वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्न गइरहेको छ । प्रवक्ता शर्माले ३३० प्रदेश क्षेत्रमा जाने केन्द्रीय प्रतिनिधिहरूको नामावली तयारको काम पनि भइरहेको जानकारी दिए ।  

‘पार्टीका तर्फबाट सांसद रहिसक्नुभएका, सांसद पदमा कार्य गरिरहनुभएका, सांसद पदको उमेदवार रहनुभएका साथीहरु, त्यसका अलावा कांग्रेसको जिल्ला सभापति भएर नेतृत्व गरिसक्नुभएका साथीहरू र केन्द्रीय समितिका साथीहरू गरेर ३३० निर्वाचन क्षेत्रका लागि प्रतिनिधि चयन हुँदै हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरू २३ गते साँझसम्म तोकिएको स्थानमा पुगेर २४ गते अभियानको उद्घाटन गर्नुहुन्छ ।’

कांग्रेसले यसअघि ७५ वटै जिल्लामा पहिलो चरणअन्तर्गत एक महिने जागरण अभियान सञ्चालन गरेको थियो । वैशाख २५ गते ७७ वटै जिल्लामा एकसाथ सुरु भएको जागरण अभियान जेठ २५ गते ७४ जिल्लामा जुलुस प्रदर्शन र आमसभा गरेर समापन भएको थियो । तीन जिल्लामा भने विविध कारणले अभियान समापनको शैली फेरिएको थियो । जेठ २५ गते नेवार समुदायको सिठी नःख पर्व परेकाले ललितपुरमा जेठ २४ मै अभियान समापन गरिएको थियो भने कैलाली र कञ्चनपुरमा हावाहुरीले ठूलो मात्रामा क्षति पु¥याएपछि कांग्रेसले जागरण अभियानलाई राहत र मानवीय सहायता कार्यमा परिणत गरेको थियो ।

आमजनतालाई सरकारले गरेका संविधान र संघीयताविरोधी गतिविधिबारे जानकारी दिँदै जनस्तरमा आप्mनो खस्केको शाख फिर्ता गराउने लक्ष्यका साथ कांग्रेसले ७७ वटै जिल्लामा अभियान सञ्चालन गरेको थियो ।