काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका नेताहरूको व्यक्तिगत विषयमा सार्वजनिक रूपमा टिप्पणी गर्न नेता तथा कार्यकर्तालाई बन्देज गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेको पहिलो सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको बैठकले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताहरूलाई पार्टीकै अन्य कुनै पनि नेता तथा कार्यकर्ताको व्यक्तिगत कुराहरूलाई सार्वजनिक रूपमा लगे कारबाही गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पार्टीका नेता, कार्यकर्ता वा अन्य कुनै कमरेडहरूको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडहरूले कुनै कुरा व्यक्तिगत रूपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले उठाउनुपर्ने छ,’ उनले भने, ‘पार्टीभित्र छलफलको विषय बनाउनुपर्ने छ । त्यसलाई सार्वजनिक रूपमा लगिएमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गर्ने निर्णय भएको छ ।’
पदाधिकारी थपिए
बैठकले विभिन्न जिल्लामा इञ्चार्ज, सहइञ्चार्ज र केन्द्रीय विभागमा प्रमुख उपप्रमुखहरू थप गरेको छ । प्रवक्ता श्रेष्ठले दिएको जानकारीअनुसार कानुनमन्त्रीसमेत रहेका भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुख बनाइएको छ भने रामकुमार राईलाई उपप्रमुख तोकिएको छ । राई यसअघि खोटाङ जिल्लाको सहइञ्चार्ज थिए ।
त्यस्तै, विदेश विभाग उपप्रमुखमा विष्णु रिजाल, नीति अध्ययन प्रतिष्ठानको उपप्रमुखमा प्रमेश हमाल र प्रादेशिक मामिला विभागमा डोरमणि पौडेललाई जिम्मेवारी दिइएको छ । पौडेल प्रदेश नम्बर–३ का मुख्यमन्त्री हुन् ।
सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागार्इं र इञ्जिनियर संगठनको सहइञ्चार्जमा रामकुमारी झाँक्रीलाई जिम्मेवारी दिइएको छ । जनवर्गीय संगठनतर्फ महिलामा अमृता थापा र सीता पौडेल, आदिवासी जनजातिमा सुरेश आलेमगर र शेरबहादुर तामाङ, दलित मुक्ति मोर्चाको सहइञ्चार्जमा तिलक परियार र बोमबहादुर विक तथा प्रेस संगठनमा महेश्वर दाहाललाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ ।
यसैगरी, जनसांस्कृतिक महासंघको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्ज खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ, शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा हिक्मत कार्कीलाई जिम्मेवारी दिइएको छ ।
श्रेष्ठका अनुसार कैलाली जिल्लाका सहइञ्चार्ज वीरमान चौधरीलाई सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ भने कर्णाली प्रदेश सम्पर्क कमिटीको इञ्चार्जमा सत्या पहाडीलाई जिम्मेवारी दिइएको छ ।
बैठकले रामचन्द्र साहलाई पर्साको इञ्चार्ज तोकेको छ । विभिन्न जिल्लामा सहइञ्चार्जहरूको जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार ताप्लेजुङमा तिलकुमार मेन्याङ्बो, सुनसरीमा भगवती चौधरी, प्रमोदनारायण यादव र हरिनारायण चौधरी सिरहा, कास्कीमा चूडामणि जंगली र कैलालीमा दीपक देवकोटालाई जिम्मेवारी दिइएको छ ।
४ केन्द्रीय सदस्य थपिए
बैठकले ४ जना केन्द्रीय सदस्य थप गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय कमिटीमा ल्याइएको हो । उनीहरू नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी एकीकरणमा असन्तुष्ट भई नेकपा प्रवेश गरेका नेताहरू हुन् ।
पार्टीको विधानमा उल्लेख भएअनुसार नै उनीहरूलाई केन्द्रीय कमिटीमा ल्याइएको श्रेष्ठले बताए । ‘पार्टी विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशतसम्म केन्द्रीय सदस्य थप्न सकिने भन्ने प्रावधानअनुसार थप गरिएको हो,’ उनले भने । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुभन्दा पहिले नै दाहाललाई सचिवालय बैठक बोलाउन सक्ने लगायतका अधिकार दिइएको थियो ।



















