क्वालालम्पुर(मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ विविध कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ।
“आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, भविष्यको निर्माण” भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा मलेसियामा रहेका विभिन्न आदिवासी जनजातीय समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा विविध जातीय सांस्कृतिक झाँकी तथा प्रस्तुति, आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र पहिचानको प्रदर्शनी लगायत विशेष आकर्षण रहनेछन्। यस अवसरमा विभिन्न जातीय समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गरिने विश्वास लिइएको छ।
उक्त कार्यक्रम २०८३ साल साउन २४ गते (९ अगस्ट २०२६), आइतबार दिउँसो १२:०० बजे, होटल हिमालयको सभाहल, क्वालालम्पुर कोताराया मा आयोजना हुनेछ।
यस कार्यक्रमलाई सफल बनाउन महासंघ सम्बद्ध निम्न जातीय आवद्ध संस्थाहरूको सहकार्य रहेको छः
- नेपाल तामाङ घेदुङ मलेसिया
- शेर्पा संघ मलेसिया
- नेपाल मगर संघ मलेसिया
- तमु समाज मलेसिया
- नेपाल थामी समाज मलेसिया
- किरात यायोखा मलेसिया
- किरात याक्थुम चुम्लुङ मलेसिया
- थारु कल्याणकारिणी सभा मलेसिया
- नेपाल सन्थाल समाज मलेसिया
आयोजक नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई विश्व आदिवासी दिवस तथा महासंघको वार्षिकोत्सवलाई सभ्य, भव्य र सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।




















