आईपीएलको एक टोली मुम्बई इन्डियन्सको आधिकारिक एयरलाइन्स बन्यो “मलेसियन एयरलाइन्स”।

क्वालालम्पुर (मलेसिया):= इन्डियन प्रिमियर लिग (IPL) को सबैभन्दा सफल र लोकप्रिय टोलीमध्येको एक मुम्बई इन्डियन्स र मलेसियाको राष्ट्रिय ध्वजावाहक विमान सेवा मलेसिया एयरलाइन्सबीच एक विशेष व्यावसायिक साझेदारीको घोषणा भएको छ।

यस ऐतिहासिक सम्झौतासँगै मलेसिया एयरलाइन्स मुम्बई इन्डियन्सको ‘आधिकारिक ग्लोबल एयरलाइन पार्टनर’ (Official Global Airline Partner) बनेको छ। यो साझेदारीले दुवै ब्रान्डलाई विश्वव्यापी रूपमा अझ बढावा दिने र विशेष गरी क्रिकेट खेलका माध्यमबाट भारत र मलेसियाबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको छ।

यस साझेदारीको विशेष उत्सव मनाउन मलेसिया एयरलाइन्सले आफ्नो एउटा अत्याधुनिक एयरबस ए३३०-३०० (Airbus A330-300) विमानलाई मुम्बई इन्डियन्सको थिममा सजाएको छ। विमानको बाहिरी भागमा मुम्बई इन्डियन्सको आधिकारिक नीलो र सुनौलो रङका साथै टोलीको प्रसिद्ध ‘चक्र’ लोगो र नाम निकै आकर्षक ढंगले पेन्ट गरिएको छ।

यस विशेष रूप (Special Livery) मा सजिएको विमानले भारत र मलेसिया लगायत एसियाका विभिन्न प्रमुख सहरहरूमा उडान भर्नेछ, जसले आकाशमै क्रिकेटको रोमान्चकता छर्नेछ। यो सहकार्य व्यावसायिक सम्बन्धमा मात्र सीमित नभएर दुवै देशका खेलप्रेमी र यात्रुहरूका लागि एउटा नयाँ अनुभव हुने बताइएको छ।

साझेदारी अन्तर्गत आगामी दिनहरूमा मुम्बई इन्डियन्सका फ्यानहरूका लागि विशेष उडान अफरहरू, उपहारहरू र विभिन्न डिजिटल गतिविधिहरू सञ्चालन गरिनेछन्। मलेसिया एयरलाइन्सले क्रिकेटको विशाल क्रेजलाई आत्मसाथ गर्दै विश्वभरका खेलप्रेमीहरूलाई आफ्नो उत्कृष्ट सेवामार्फत जोड्ने लक्ष्य राखेको छ।