क्वालालम्पुर (मलेसिया):= मलेसियामा सक्रिय नेपाली फुटबल क्लब आरटिएफसी (RTFC) ले खेलकुदमार्फत मित्रता, एकता र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ KJFC र SEA PARK FC लाई खेल जर्सी हस्तान्तरण गरेको छ।
आरटिएफसीको “Helping Hands Across Borders” भन्ने नाराअनुसार सम्पन्न उक्त सहयोग कार्यक्रमले क्लबहरूबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ। जर्सी हस्तान्तरण गर्दै आरटिएफसीका अध्यक्ष राजु योन्जन तामाङ ले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई विभिन्न समुदायलाई जोड्ने सशक्त पुल भएको उल्लेख गरे।
उनले मलेसियामा रहेका नेपाली तथा अन्य समुदायबीच मित्रता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिइने बताए।
आरटिएफसीले KJFC र SEA PARK FC लाई आगामी प्रतियोगिताहरूका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उत्कृष्ट प्रदर्शनको कामना गरेको छ। साथै, खेलकुदमार्फत नेपाल–मलेसिया समुदायबीचको सम्बन्ध अझ बलियो र दिगो बन्ने विश्वाससमेत व्यक्त गरेको छ।
उल्लेखनीय रूपमा, आरटिएफसी विगतदेखि नै मलेसियामा नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्दै विभिन्न सामाजिक तथा खेलकुद गतिविधिमा सक्रिय योगदान दिँदै आएको संस्था हो।




















