जाहोरविरुद्ध नेपाल पराजित

काठमाडौं । मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको छ । मलेसियामा सोमबार साँझ भएको खेलमा नेपाल खेलको सुरुमै पछि परेको थियो । तेस्रो मिनेटमा निकोलस अबर्टोले फ्रिकिकमा गोल गर्दै जोहोरलाई अग्रता दिलाएका थिए । उक्त गोल नै जितका लागि पर्याप्त भयो । 

नेपाली प्रशिक्षक योहान कालिनले सुरुवाती एघारमा विमल घर्तीमगरलाई एक्लो फरवार्डका रूपमा खेलाउँदै खेलको सुरुवात गरेका थिए । मिडफिल्डमा सुजल श्रेष्ठ, सन्तोष तामाङ, विक्रम लामा, विशाल राई र रवि पासवानलाई उतारेका कालिनले डिफेन्डरको जिम्मा सुमल अर्याल, देवेन्द्र तामाङ, अनन्त तामाङ र अजित भण्डारीलाई दिएका थिए । नेपाली पोष्ट भने विकेश कुथुले सम्हालेका थिए ।

फिफा वरीयताका आधारमा नेपाल सोझै फिफा विश्वकप २०२२ अन्तर्गतको एसिया छनोट दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो चरणमा विभिन्न ८ समूहमा बाँडिएका ४० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली अन्तिम चरणमा पुग्नेछन् ।

नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा कुवेत, अष्ट्रेलिया र जोर्डन छन् । सबै टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछ । नेपालले भदौ १९ गते कुवेतविरुद्ध उसैको मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ । 

यस्तै, नेपालले भदौ २४ गते चाइनिज चाइपेइविरुद्ध उसैको मैदानमा खेल्नेछ । नेपालले असोज २३ मा अष्ट्रेलियाविरुद्ध र असोज २८ गते जोर्डनविरुद्ध उनीहरूकै मैदानमा अवे खेलहरू खेल्नेछ । 

नेपालले होम खेलहरूमा मंसिर ३ गते कुवेत, चैत १३ गते चाइनिज ताइपेई, चैत २८ गते अष्ट्रेलिया र २०७७ जेठ २२ गते जोर्डनविरुद्ध दशरथ रंगशालामा खेल्दै छ ।