विश्वमा समयको गति सँगसँगै विभिन्न सेवामूलक क्षेत्रमा विविधीकरणले व्यापक रूप लिएको छ । त्यस्तै नेपालमा पनि हाल आएर पर्यटन क्षेत्रमा विविधीकरण हुँदै गएको छ । पर्यटनमा विविधीकरणले नेपालमा व्यापकतासमेत लिएको छ भन्दा फरक पर्दैन ।
हुन पनि पर्यटनमा विविधीकरणको प्रसंगमा मरुभूमिको देश युनाइटेड अरब इमिरेटस (युएई) जस्तो देशमा समेत कृत्रिम हिउँको ढिस्को निर्माण गरेर स्की पर्यटनको प्रवद्र्धन गरिएको छ । स्मरणीय छ, युएई सरकारले स्की पर्यटनलाई विश्वकै पर्यटकीय हबमध्ये एक दुबई सहरलगायत अन्य सहरमा समेत प्रवद्र्धन गरेको छ । उसले व्यापकरूपमा प्रचारप्रसार गरेर आप्mनो देशको कृत्रिम स्की पर्यटनलाई फैलाएको छ । कृत्रिम हिउँको ढिस्को नै सही त्यहाँ स्की खेल्न युरोपियन देशका पर्यटक जो स्की खेलका सौखिन छन् त्यस्ता स्की खेलाडीहरूको पनि त्यहाँ भीड लाग्ने गरेको देखिन्छ ।
यसरी मरुभूमिको देशमा समेत स्की पर्यटनले गति लिएको देख्दा हाम्रो जस्तो भूपरिवेष्ठित देश नेपालमा पनि युएईमा जस्तै कृत्रिम समुद्र बनाएर नांगाभुतुंगा पर्यटकहरूको भीड लगाउन पाए कस्तो हँुदो हो ? तर नेपालमा हालसम्म त्यस्तो सम्भावनाका बारेमा कसैले अध्ययन अनुसन्धान गरेको देखिएको सुनिएको छैन ।
जे होस्, नेपाल पनि पर्यटनका लागि अनेकौं सम्भावना भएका विश्वका केही देशहरूमध्येमा पर्छ । चाहे त्यो भौगोलिक हिसाबले होस्, चाहे त्यो जातीय विविधताको हिसाबले होस्, चाहे त्यो भाषिक विविधताको हिसाबले नै किन नहोस् । सांस्कृतिक विविधिताको हिसाब वा जैविक विविधताको हिसाबले अनि भौगोलिक विविधताकै हिसाबले किन नहोस् । विश्वका एकभन्दा बढी देशसँग दाँज्न सकिने सम्पदा र सम्भावनाहरू हाम्रो देश नेपालमा पाइन्छन् ।
यसरी पर्यटन क्षेत्रमा आएको विविधीकरण सँगसँगै आएको पर्यटकहरूलाई नयाँपन दिने लहरले गर्दा हाल विश्वका सौखिन पर्यटकहरू रोजी छानी आप्mनो गन्तव्य फेर्न थालेका छन् । त्यसैले त विश्वका अनेकौं देशहरूले पर्यटकहरूलाई अनेकौं खालका सेवा सुविधाहरू दिइरहेका छन् । उनीहरू पर्यटन व्यवसाय गरिहेका छन् र विविधखालका पर्यटनले फस्टाउने अवसर पाएका पनि छन् ।
त्यस्तै, नेपालमा पनि नेपाल आउने पर्यटकहरूलाई पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन प्mलाइट, माउन्टेन बाइकिङ हाइकिङ, मेडिटेसन, हेल्थ टुरिजम, साहसिक पर्यटन, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वास्थ्य उपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशीहरूका लागि), सिटी टुर, सामाजिक अध्ययन, जातजाति विशेषको धर्म, संस्कृति, भाषा आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, शिकार पर्यटन, चरा अवलोकन पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, सफारी पर्यटन, वन्यजन्तु अध्ययन अनुसन्धान पर्यटन इत्यादिको सम्भावना धेरै नै छन् । तर, यहाँ चर्चा गर्न खोजिएको विषय चाहिँ निकुञ्ज पर्यटनको बारेमा हो ।
हो, मान्छेले स्वीकारे पनि नस्वीकारे पनि वास्तवमा निकुञ्ज पर्यटन पनि हामी नेपालीहरूका लागि अझ खासगरी ग्रामीण भेगका नेपालीहरूका लागि आर्थिक आधार स्तम्भको रूपमा रहेको छ भन्दा अत्युक्ति हुँदैन । किनभने, अधिकांश निकुञ्जहरू गाउँघरका आसपासमा छन् । जे होस्, हालसम्म नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, से–फोकसुन्डो राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जलगायत दर्जन राष्ट्रिय निकुञ्जहरू भए तापनि आम्दानी र पर्यटकहरूले भ्रमण गर्ने गरेको संख्याको हिसाबले हेर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जलाई नै निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नुपर्ने हुन्छ ।
हुन त नेपालको सन्दर्भमा पर्यटनको बारेमा कुरो गर्दा हरेक क्षेत्रमा विदेशीहरूको सुरुवाती योगदान रहेको देखिन्छ । चाहे त्यो आधुनिक होटल व्यवसाय होस् वा पदयात्रा पर्यटन होस् अथवा हिमाल आरोहण नै किन नहोस् । जस्तै ः होटलकै सन्दर्भमा पनि तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले काठमाडांैमा हाल निर्वाचन आयोग भएको भवनमा पहिलोपटक ‘रोयल होटल’ नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकहरूले आधुनिक होटलको सेवा लिने आधारस्तम्भ खडा भएको थियो । वास्तवमा बोरिसलाई नेपालको पर्यटन क्षेत्रको पनि होटल व्यवसायमा कखरा सिकाउने पहिलो व्यक्तिभन्दा फरक नपर्ला ।
त्यस्तै, नेपालमा निकुञ्ज पर्यटनको आधारस्तम्भ खडा हुनुमा पनि विदेशी नागरिककै हात छ । सन् १९६० को दशकमा बेलायती नागरिक जिम एडवर्डसले पहिलोपटक चितवनमा ‘टाइगर टप्स’ नामक होटल खोलेर निकुञ्ज पर्यटनको थालनी गरेका थिए । स्मरणीय छ, हाल जिम एडवर्डस यो भौतिक संसारमा छैनन् । वास्तवमा हाल आएर चितवन जिल्लाको सौराहा देशकै एउटा उदाहरणीय निकुञ्ज पर्यटकीयस्थल हुनुमा उनै जिम एडवर्डसको ठूलो वा महŒवपूर्ण योगदान छ भन्दा कसैले नकार्न सक्दैनन् ।
भलै वातावरणको नाममा डलर हजम गर्न पल्केका कथित वातावरणविद्हरूले विनाविकल्प त्यहाँ रहेका होटलहरू बन्द गर्नुपर्ने भनी केही वर्षअघि रडाको मच्चाएका थिए । हुन पनि हाल आएर विदेशी पर्यटकहरू मात्रै नभएर उच्च र मध्यम स्तरको आय भएका नेपालीहरू पनि त्यहाँ आन्तरिक पर्यटकका रूपमा जान थालेका छन् । जान थालेका मात्रै होइनन्, आन्तरिक पर्यटककै कारण चितवनका होटल व्यवसायीहरूले दरिलो आम्दानी गर्न थालेका छन् । त्यहाँ होटल, लज, गेष्ट हाउस, कटेज, मचान, होम स्टे आदि खुल्ने क्रम बढ्दो छ ।
निश्चय नै आशय यो होइन कि, वातावरण विनाश भए होस्, त्यहाँ होटल, लज, गेष्ट हाउस, कटेज, मचान, होम स्टे आदि खुल्ने क्रम जारी रहोस्, ! उता नेपाल सरकारको तर्फबाट निकुञ्ज पर्यटनका लागि चाहे जति सहयोग प्राप्त भएको छैन, राष्ट्रले दिन सक्ने योगदान दिन सकेको छैन । एक किसिमले भन्ने हो भने नेपाल सरकार व्यवसायीहरूबाट मनग्य कर लिन तयार छ । तर, राज्यको तर्फबाट व्यवसायीहरूलाई दिनुपर्ने न्यूनतम सेवा सुविधा दिन पनि सकिरहेको छैन ।
यस मामिलामा सरकार भन्नु नै नेपालका निजामती कर्मचारीहरू हुन् । उनीहरू स्थायी सरकार पनि हुन् । त्यसैले ऐन, कानुन, नीति, नियम, विनियम, कार्यविधि आदि बनाउनमा मुख्यतया कर्मचारीतन्त्रको ठूलो हात हुन्छ । किनभने, सरकार भनेको त आज एउटा राजनीतिक पार्टीको बन्छ, त्यो सरकारले पूर्णरूपले काम गर्न नपाउँदै भोलि अर्को राजनीतिक पार्टीको सरकार गठन हुनपुग्छ । वर्तमान सरकार मात्र दुई तिहाइको बन्न पुगेको छ तर यसले पनि सोचेअनुसार काम गर्न सकेको छैन । नेपालका कर्मचारीहरूले आत्मा साक्षी राखेर र राजनीतीकरणमा नपरी आप्mनो देश र जनताको हितलाई सर्वोपरि हित ठानेर काम गरेमा निकुञ्ज पर्यटनले मात्रै होइन, समग्रमा देशले गति लिन पनि खासै समय लाग्ने थिएन ।




















