नयाँदिल्ली । भारत सरकारले जम्मु कश्मीरको विशेषाधिकार खारेज गरेको २० दिन पुगिसक्दा पनि त्यहाँको अवस्था सामान्य बन्न सकेको छैन । यही अगष्ट ५ मा केन्द्र सरकारले संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गर्दै जम्मु कश्मीरको विशेषाधिकार खारेज गरेको थियो ।
केन्द्र सरकारले सो निर्णय गर्नुअघि ४ अगष्टमै जम्मु कश्मीरमा आपत्कालिन व्यवस्था लागू गर्दै कप्mर्यु जारी गरेको थियो । सो क्रममा जम्मु कश्मीरभर इन्टरनेट र फोन सेवा अवरुद्ध गरियो भने विद्यालयहरूसमेत बन्द गरियो । ठूलो संख्यामा सेना परिचालनसमेत गरिएको छ । केन्द्र सरकारले जम्मु कश्मीरबारे निर्णय गर्नुअघि पूर्वमुख्यमन्त्रीहरू महबुबा मुफित र उमर अब्दुल्लाहलाई नजरबन्दमा राखेको थियो । उनीहरू अझै नजरबन्दमा छन् ।
पछिल्ला दिनहरूमा जम्मु कश्मीरको कप्mर्युमा केही खुला गरे पनि त्यहाँको अवस्थाबारे भने पुष्टि भएका खबरहरू आउन सकेका छैनन् । यही बीचमा विपक्षी नेताहरूले जम्मु कश्मीरको अवस्थाबारे जानकारी लिन भन्दै त्यहाँ जाने प्रयास गरे पनि जम्मु कश्मीर प्रशासनले नेताहरूमाथि अघोषित प्रतिबन्ध लगाएको छ । शनिबार प्रमुख विपक्षी पार्टी कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धीसहितको विपक्षी नेताहरूको टोली दिल्लीबाट श्रीनगर त पुग्यो तर, श्रीनगरस्थित विमानस्थलबाट बाहिर निस्कन पाएन । गान्धीसहितको टोलीलाई श्रीनगर विमानस्थलबाट फेरि दिल्लीतर्फ फर्काइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जम्मु कश्मीरको अवलोकन गर्न नपाएपछि राहुल गान्धीले केन्द्र सरकारप्रति आक्रोश पोखेका छन् । श्रीनगरबाट फिर्ता भएपछि दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै गान्धीले भने, ‘मलाई राज्यपालले जम्मु कश्मीर आउने निमन्त्रणा दिएका थिए । मैले निम्तो स्वीकार गरेँ । उनले भनेका थिए, ‘त्यहाँ सबै सामान्य छ । उनले भनेका थिए कि मेरा लागि एक विमान पठाउनेछन् । मैले धन्यावाद दिँदै विमान लिने कुरा अस्वीकार गरेँ । तर, मैले उनको निम्तो स्वीकार गर्दै भनेको थिएँ, म आउनेछु ।
म विपक्षका वरिष्ठ नेताहरूसँगै त्यहाँ गएँ । हामी त्यहाँ मानिसहरूसँग भेट्न चाहन्थ्यौँ । मानिसहरूको अवस्था के छ बुभ्mन चाहन्थ्यौँ । र सहयोग गर्न चाहन्थ्यौँ । दुर्भाग्य हामीलाई विमानस्थलबाट अगाडि जाने अनुमति दिइएन । वास्तावमा यो निकै दुखद् छ । हामीसँगै सञ्चारमाध्यमहरूमाथि पनि दुव्र्यवहार गरियो । तीमध्ये केहीमाथि हातपात पनि भयो । यसबाट के पुष्टि हुन्छ भने अवस्था निकै खराब छ ।’
राहुल गान्धी अघि जम्मु कश्मीरबाटै प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा विपक्षी दलका नेता तथा कांग्रेस नेता गुलाम नबी आजादलाई पनि दुईपटक श्रीनगरबाटै फिर्ता गरिएको थियो । उनले ‘उडिरहेको विमानबाट उजाड कश्मीरको अवलोकन गरेको’ बताएका थिए । आजादभन्दा पहिला भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी र नेता डी राजालाई पनि श्रीनगर विमानस्थलभन्दा अगाडि जानबाट रोकिएको थियो । यति मात्र होइन कश्मीरी नेताहरूलाई नजरबन्दमा राखिएको छ भने पृथकतावादी आन्दोलन गरेका कश्मीरीहरूलाई त्यहाँको जेलबाट भारतका अन्य राज्यका जेलहरूमा स्थानान्तरण गरिएको छ ।
केन्द्र सरकारले जम्मु कश्मीरको अवस्था सामान्य रहेको दाबी गरे पनि द वायर, बीबीसी हिन्दी लगायतका सञ्चारमाध्यमहरूले कश्मीरको अवस्था भयावह रहेको उल्लेख गरेका छन् । न्युयोर्क टाइम्सले एक समाचार प्रकाशित गर्दै त्यहाँ सामान्य अवस्था नरहेको जनाएको छ । द वायरले जम्मु कश्मीरको तस्वीरहरू प्रकाशित गर्दै ५ अगष्टपछि त्यहाँको अवस्थाबारे जानकारी दिएको छ । द वायरका अनुसार धारा ३७० खारेज गरेको विरोधमा जम्मु कश्मीरमा लगातार प्रदर्शनहरू भइरहेका छन् । सरकारी सुरक्षाकर्मीले आन्दोलनकारीमाथि दमन गरिरहेको छ ।



















