मलेसियामा मृत्यु भएका मनजयको शव १० दिनदेखि अस्पतालमै, दूतावासले शव फिर्ता प्रक्रिया थाल्यो।

क्वालालम्पुर := परिवारले चार लाख उपचार खर्च तिर्न नसक्दा मलेसियाको अस्पतालमा सप्तरीका मनजय सदाको शव १० दिनदेखि बन्धक छ । १० वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको विष्णुपुर गाउँपालिका– ६, रामटोलका ३३ वर्षीय सदाको तेङ्कु अम्पुआन रहिमा क्लाङ अस्पतालमा उपचारका क्रममा २६ चैतमा मृत्यु भएको थियो ।

तर, उपचारमा लागेको चार लाख तिर्न नसकेका कारण अस्पतालले शव निकाल्न नदिएको हो ।  मनजयकी २७ वर्षीय श्रीमती शिवकुमारी सदाका अनुसार श्रीमान्लाई अचानक पेट दुख्न थालेपछि एक साथीले अस्पताल लगेका थिए । केही दिनको उपचारपछि श्रीमान्का तिनै साथीले मृत्युको खबर पठाएको र उपचारमा लागेको चार लाख नतिरेसम्म शव नदिने जनाएको शिवकुमारीले सुनाइन् ।

‘अस्पतालमा उपचारका क्रममा लागेको चार लाख तिरेपछि मात्रै शव दिन्छौँ भनेर अस्पतालले भनेको छ । तर, हामीसँग भएको यही झुप्रो घर मात्रै हो, यो पनि ऐलानी जग्गामा बनाएको हो,’ शिवकुमारीले भनिन्, ‘हामी विपन्नले त्यति धेरै पैसा कहाँबाट ल्याउने ?

मनजय कावेली ह्युमन रिसोर्सेज प्राइभेट लिमिटेडमार्फत फ्याक्ट्री वर्करका रूपमा मलेसिया गएका थिए । मलेसियामा काम गरेको कम्पनीले पनि शव ल्याउन कुनै पहल नगरेको उनको गुनासो छ । श्रीमान्को शव झिकाइदिन जिल्ला प्रशासन कार्यालय, सप्तरी र वैदेशिक रोजगार बोर्डमा निवेदन दिएकी छिन् । तर, कसैले कुनै पहल नगरेको उनको गुनासो छ ।

मनजयको मृत्युपछि रुवाबासी चलेको घरमा शव नै मलेसियामा बन्धक बनेको खबरले थप पीडा दिएको छ । घरमा श्रीमती शिवकुरमारी, एक छोरी र बुबा–आमा छन् । उनीहरूको जिम्मेवारी मनजयको काँधमा थियो ।

बुढेसकालको सहारा गुमाएका ७० वर्षीय बुबा बुधन सदा छोराको शव विदेशमा बन्धक भएको सुनेर झन् धेरै मर्माहत छन् । ‘मेरो सहारा ढल्यो । यो उमेरमा भारी बोकेर वा खेताला गएर परिवारको पेट पाल्ने सामर्थ्य मसँग छैन । परिवारको छाक कसरी टार्ने होला, बिरामी पर्दा औषधि कसले ल्याइदेला ?’ उनले चिन्ता व्यक्त गरे, ‘हाम्रो परिवारको भविष्य त धरापमा परेको छ नै, मृत्युपछि पनि उसले समेत मुक्ति पाएन । अस्पतालबाट शव निकाल्न चार लाख तिर्ने हैसियत हामीसँग छैन ।’

यता नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले बताए अनुसार “वहाँ मनजय सदा सो सुरक्षागार्ड कम्पनीमा अवैधानिक रूपमा काम गरिरहनु भएको हुँदा कम्पनीले सदाको मृत्युबारे नेपाली राजदूतावास मलेसियालाई ढिला जानकारी दिएको, तर हाल उहाँको शव स्वदेश फिर्ता पठाउने प्रक्रिया सुरु भैइसकेको जानकारी दिनुभयो। साथै आज सोमबार सो मृत्यु घटना सम्बन्धमा रोजगारदाता कम्पनीको प्रतिनिधि छलफलसंगै  आवश्यक प्रक्रिया पूरा गर्नका लागि दूतावासमा आउँदै गरेको बताउनुभयो।”

राजदूतावासले मलेसियामा काम गर्न आएका सदा पहिले फ्याक्ट्री वर्करको रुपमा एउटा म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्न आएको तर , पछिल्लो केहि बर्षदेखी अवैधानिक हैसियतमा सुरक्षागार्डमा काम गरिरहेका थिए । उपचारका लागि अस्पतालमा भर्ना हुन लाई दर्ता गराउने समयमा पनि अन्य साथीको राहदानी प्रयोग गरिएको पाइएको छ, दूतावासले भन्नुभयो।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरु अरु अरुको लहैलहैमा लागेर रोजगार कम्पनी छाडेर भाग्दा , केहि दुःख अथवा समस्या परेको बेला भागेर अवैधानिक बनेका नेपालीसंगसंगै राजदूतावास लगायत सम्बन्धित सरकारी निकायलाई समेत आवश्यक प्रक्रिया पूरा गर्न र गराउन कठिनाई हुने गरेको बताउँदै , कम्पनी छाडेर नभाग्न र अवैधानिक नबन्न अनुरोध गरेका छ्न।

त्यस्तै जिल्ला प्रशासन कार्यालयमातहतको आप्रवासी स्रोत केन्द्रकी केस स्टडी प्रमुख नीता चौधरीले भने मनजयको शव ल्याउन पहल भइरहेको बताइन् । ‘पहल जारी छ, छिट्टै उहाँको शव नेपाल आउँछ,’ उनले भनिन् । आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीमा समस्यामा परेकाहरूको उद्धारमा सहजीकरणको काम गर्दै आएको छ ।

समाचार स्रोत : सौरभ यादव / नयाँ पत्रीका दैनिक बाट लिइएको हो ।