काठमाडौं := नयाँ वर्षको छेको पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यस चलचित्रले प्रदर्शनको नौ दिनमा दुई करोड ७९ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
बोर्डका अनुसार उक्त कमाइ ९७ हजार २०५ वटा टिकट बिक्रीबाट भएको हो । यद्यपि, वितरक गोविन्द शाहीले भने सोमबारसम्म यस चलचित्रले तीन करोड २० लाख रुपैयाँ कमाइसकेको दाबी गर्नुभएको छ । उहाँका अनुसार केही हलमा बक्स अफिस प्रणाली जडान नभएकाले बोर्डको तथ्यांकभन्दा वास्तविक कमाइ केही बढी रहेको छ ।
चलचित्रले अझै पनि दर्शकको राम्रो साथ पाइरहेकाले आगामी दिनमा व्यापार थप बढ्ने अपेक्षा गरिएको छ । चलचित्रको व्यापारबाट निर्माता पनि सन्तुष्ट देखिएका छन् । निर्माता उपेन्द्र शाहीका अनुसार चलचित्रको लगानी सुरक्षित हुने चरणमा पुगेको छ । उहाँले अमेरिकाबाहेक अन्य विदेशी बजारबाट ७० लाख रुपैयाँ र डिजिटल अधिकारबाट ७२ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो ।
यसमा घरेलु बक्स अफिस आम्दानी जोड्दा करिब तीन करोड लगानी उठ्ने निश्चित रहेको उहाँको भनाइ छ । माइकल चन्दको निर्देशनमा बनेको यस चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनील थापा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ ।
चलचित्रको निर्माण स्वेता विमली र उपेन्द्र शाहीले गर्नुभएको हो । निर्माण टिमले चलचित्रको सफलतासँगै यसको सिक्वेल निर्माण गर्ने घोषणासमेत गरिसकेको छ । ‘राम नाम सत्य’ सँगै तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ पनि सिनेमाघरमा प्रदर्शनरत छ । ‘पहाड’ले पनि दर्शकको साथ पाइरहेको छ ।




















