आज भिडियोबाट मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद्को बैठक चलाउने जनाइएको छ । 

स्रोतका अनुसार बैठक सोमबार दिउँसो १२ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री ओली उपचारमा जानुअघि नियमावली संशोधन गरी प्रधानमन्त्री देशबाहिर रहेका समयमा भिडियो कन्फरेन्समार्फत बैठक बस्नसक्ने व्यवस्था गरिएको थियो । 

प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिंगापुरमा छन् । सिंगापुर बसाइ कति लामो हुने भन्ने टुंगो लागेको छैन । बाह्र वर्षअघि मिर्गाैला प्रत्यारोपण गरेका ओली स्वास्थ्यमा समस्या देखिएपछि यही ५ गते उपचारका लागि त्यसतर्फ गएका थिए । त्यसको १० दिन अघि उनी सिंगापुरबाट फर्केका थिए ।