राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : चिकित्सकको सामूहिक राजीनामा स्वीकृत

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूको संयुक्त राजीनामा स्वीकृत भएको छ ।

काम गर्ने वातावरण नभएको भन्दै यही भदौ ६ गते २३ जना चिकित्सकहरूले संयुक्त राजीनामा दिएका थिए । राजीनामा दिए पनि शनिबारसम्म कुनै सुनुवाइ भएको थिएन । आइतबार चिकित्सकहरूले २४ घण्टाभित्र स्वीकृत गर्न अल्टिमेटम दिएका थिए । राजीनामा स्वीकृत नभए उनीहरूले काममा फर्किने वातावरण बनाउन भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

टोलीले प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेललाई उक्त ज्ञापनपत्र बुझाएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति हुँदा पनि जिल्लावासीले चाहे अनुसारको सेवासुविधा नपाएको, उपकुलपतिकै कारण प्रतिष्ठान धराशायी बनेको, अनियमितता बढेको, विभिन्न निकायसँग विवादमा मुछिएको, डाक्टर तथा कर्मचारीलाई काम गर्ने वातावरण नदिएको उनीहरूको आरोप थियो ।

उनीहरूको राजीनामासँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरूको संख्या शून्यमा पुगेको छ । अस्पतालमा आइतबार उपकुलपति आफैंले बिरामी जाँचेकी थिइन् भने निर्देशक सागर पन्थी र डिन वसन्त लामिछाने मात्र प्रतिष्ठानमा छन् ।

प्रतिष्ठानका लागि सरकारी डाक्टरहरूलाई मन्त्रालयले व्यवस्थापन गर्नेगरी फिर्ता पठाएको छ भने प्रतिष्ठान आफैंले नियुक्त गरेका डाक्टरहरूको करार सम्झौता भंग गरेको बताएको छ ।