रिटायर्ड बट नट टायर्ड

उमेरले साढे तीनबीस वर्ष काटेका विष्णुगोपाल श्रेष्ठ एक दर्जनभन्दा धेरै संघसंस्थाको कार्यकारी पदमा छन् । उनीसँग कुरा गर्दा लाग्छ, उनी भर्खर युवा अवस्थामा छन् । विष्णुगोपालको ऊर्जा देख्ने, उनका कुरा सुन्ने र कार्यशैली थाहा पाउने जो कोहीलाई पनि भन्न कर लाग्छ– उमेर भनेको थपिँदो अंकमात्रै हो, सबैभन्दा मुख्य कुरा त मान्छेभित्रको इच्छाशक्ति र लगनशीलता हो ।

सकारात्मक सोचका धनी विष्णुगोपाल अहिले फरक कामको तयारीमा छन् । त्यसका लागि उनले देशका नाम कहलिएका केही व्यक्तित्वहरूसँग छलफल गरिसके । उनले जस जसलाई सुनाए, ती सबैले विष्णुको प्रस्तावको प्रशंसा गर्दै स्वीकार गरेका छन् । उनले तयारी गरेको सन्दर्भ हो, बौद्धिक व्यक्तिहरूको समूह निर्माण । जसलाई उनी भन्छन् ‘भिजनरी ग्रुप ।’ यो गु्रपमा ‘रिटायर्ड बट नट टायर्ड’ मान्छेहरू रहनेछन् । 

यो समूहले आप्mनो विचार थोपर्दैन, सुझावमात्र दिन्छ । सुझाव देश चलाउने, विद्यालय चलाउने, उद्योगधन्दालगायत सबैले लिन सक्छन् । उनमा यस्तो विचार कसरी आयो ? विष्णु जब देश विदेश गए तब अनुभवले खारिए, त्यसपछि सोचे, आफ्नो देशमा अनुभवी व्यक्तिको ज्ञान र क्षमताको कदर कहाँ र कसरी भएको छ त ¤ अनुभवीहरूको अनुभव र ज्ञानको उपयोग गर्ने उद्देश्य छ उनको भिजिनरी ग्रुप निर्माणमा । यस्ता कामले विद्वान्हरूको सम्मान हुनुका साथै उनीहरूको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण हुने तर्क गर्छन् उनी । 

कस्तो ऊर्जा !

उमेरले ४० कटेपछि धेरै नेपालीले उच्चारण गर्ने वाक्य हो– अब बूढो भइयो । ती मान्छे जसले ऊर्जाशील उमेरमै आफू बूढो भएको ठान्छन्, तिनलाई गतिलो जवाफ हुन् विष्णुगोपाल । उनको मन र मस्तिष्क दुवैले कुनै विषयलाई असम्भव ठान्दैन । समस्याबाट पछि हटेमात्रै त्यो असम्भव हुने उनको भनाइ ? भन्छन्, ‘समस्याले सिकाउँछ, त्यसैले यसलाई अवसरको रूपमा लिनुपर्छ ।’ अर्को अवसरको द्वारका रूपमा समस्यालाई बुझे, त्यसले काम फत्ते गर्ने बाटो खेल्छ भन्ने उनको अनुभव छ । सकारात्मक नै आप्mनो ऊर्जाको स्रोत हो भन्ने ठान्छन् उनी । ‘मैले गर्न धेरै बाँकी छ’ भन्ने धारणाले आपूmलाई प्रत्येक पल ऊर्जाशील बनाई राख्ने अनुभव गरेका छन् विष्णुगोपालले । जीवनलाई उनी भ¥याङसँग तुलना गर्छन् उनी । तल रहेको मान्छे जब भ¥याङ चढेर माथि पुग्छ, त्यहाँ पुग्दा धेरैजसो लक्ष्य प्राप्त भयो भन्दै खुसी हुन्छन् । भ¥याङ चढ्दा अनुभव गरेको अप्ठ्यारो सम्झेर कति निराश हुन्छन््, चिन्तित हुन्छन् पनि । जसले त्यो निराशा र चिन्तालाई आशा र चिन्तनमा बदल्नसक्छ र अगाडि बढ्छ, ऊ नै असल र सफल मानिस भएको बताउँछन् उनी । 

जीवन छँदा गर्ने कर्ममा नै विष्णुगोपाल मान्छेको अमरत्व देख्छन् । कर्मले कृति स्थापित गर्ने र त्यही कृतिको आधारमा मान्छे राम वा रावण बन्ने निश्चित हुने उनको भनाइ छ । सुख, दुःख, खुसी, उमंग, क्रोध र उत्तरदायित्व सबै मान्छेभित्र देखेका छन् । कुनलाई प्राथमिकता दिने, त्यो व्यक्तिको दृष्टिकोणमा भरपर्ने उनको बुझाइ छ । मान्छेभित्र राम र रावण दुवैको अस्तित्व हुन्छ, प्रबल कुन हुन्छ भन्ने कुरा उसको सोचमा भर पर्छ ।  

यसरी भयो यु टर्न 

विष्णुगोपाललाई सानैदेखि खेल्न खुब रमाइलो लाग्थ्यो । उनी खेल्न रहर गर्थे । उनी पढ्ने विद्यालयमा एकजना यस्ता शिक्षक थिए, फुर्सदमा खेल्न उनलाई प्रेरित गर्थे । ती शिक्षकको प्रेरणाले उनको खेल्ने रहर र इच्छालाई अगाडि बढाउन सहयोग ग¥यो । 

खाजा खाने समयमा पनि उनी विद्यालयको चौरतिरै हुन्थे । बिदा त कहिले आउला जस्तो हुन्थ्यो । खेलकुदका सामान्य क्रियाकलापमा उनी सहभागी हुन्थे । विद्यालयमा माथिल्ला कक्षाका विद्यार्र्थीले खेल्दा उनी खेल्न नपाए पनि उनीहरूको सहयोगी बन्थे । त्यसले उनलाई खुसी दिन्थ्यो । त्यतिबेलाको फुटबल अहिलेको जस्तो हुँदैन थियो । धागोले बाँध्नुपथ्र्यो । उनी फुटबलको आकार दिन धागोले बाँध्थे । ग्रीस लगाउनुपथ्र्यो । भन्छछन्, ‘त्यो काम म गर्थें । बललाई घाममा सुकाउँथेँ । हावा भर्थें र बल लिएर ग्राउन्डसम्म जान्थेँ ।’ 

यति गरे पनि उनी खेलन पाउँदैन थिए । उनी फुटबल ग्राउन्डबाहिर बसेर हेरिराख्थे । यतिसम्म कि, उनले तिहारमा देउसी खेलेर जम्मा पारेको रुपैयाँबाट टोलमा टेबुलटेनिस कोर्ट बनाएका थिए । आप्mनो नगद खर्चेर ट्रफी किनेर ल्याउँथे, प्रतियोगितामा भाग लिन्थे । त्यो ट्रफी उनकै पोल्टामा पथ्र्यो । 

हेटौंडाको मकवानपुरमा जन्मिएका विष्णुगोपालले नौ कक्षाको पढाइ काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयबाट सुरु गरे । खेलकुदप्रतिको मोह र प्रेम उनीभित्र झनै झाङ्गिदै थियो । अर्थात् उनी नन प्लेइिङ फुटबल क्याप्टेन थिए । जुद्धोदय, शान्ति निकुञ्ज र दरबार हाइस्कुल फुटबलको एउटा समूह थियो । अर्को पद्मोदय माध्यमिक विद्यालय । पद्मोदयतर्फ उनी गोलकिपर थिए । यी समूहबीचको प्रतिस्पर्धा टुँडिखेलमा आयोजना गरिएको थियो । सानदार तरिकाले खेल भइरहेको थियो । दुवै समूह उत्साहित थिए । तर, भइदियो पेनाल्टी । पेनाल्टी गोलरक्षक विष्णुगोपाले बचाए । अर्थात् गोल हुन दिएनन् । त्यसपछि त उनको तारिफ कति हो कति ¤ सबैले प्रशंसा गरेको त्यो दिनको रातमा उनले गरेको निर्णय यस्तो थियो ‘आइ मस्ट बी अ गोलकीपर अफ दिस कन्ट्री ।’ त्यो खेल र दिनलाई उनी आप्mनो जीवनको टर्निङ प्वाइन्ट भएको बताउँछन् उनी । त्यसो सुरुवात उनले भोलिपल्ट बिहानै सुरु गरे । जसरी विष्णुगोपाललाई देशको राम्रो गोलकिपर हुनु जो थियो । 

त्यतिखेर अहिलेको जस्तो चाहेको विषयमा गुगलमा खोज्न कहाँ पाउनु ¤ गोलकिपरको बारेमा थाहा पाउन उनी प्रत्येक दिन ब्रिटिस काउन्सिल पुग्थे । त्यहाँ एउटा पुस्तक थियो, त्यसको शीर्षक थियो, ‘हाउ टु बी अ गोलकिपर’ त्यो किताब पढ्थे । सम्झनुपर्ने विषय कापीमा सार्थे । त्यसलाई उनी ग्राउन्डमा प्रयोग गर्थे । गोलकिपर हुन केही अग्लो हुनुपथ्र्यो । उनी ५ फिट ६ इन्चका उनी साइकल राखेर डाइभ हान्थे । जसले उनलाई गोल छेक्ने तरिका जान्न सहयोग गथ्र्यो । अथक मिहिनेतका कारण उनी देशको प्रतिनिधित्व गर्दै खेलाडी झण्डै दुई दर्जन देश पुग्न सफल भए । जसले उनलाई खेल जगत्को बारेमा बुभ्mन धेरै मद्दत ग¥यो । बक्सिङमा पनि उनको खुबै रुचि थियो । बक्सिङका केही प्रतियोगितामा सहभागी भएपछि विष्णुगोपाल फुटबलमा मात्रै केन्द्रित भए । 

एक–एक रुपैयाँबाट बन्छ रंगशाला 

खेलकुद मनोरञ्जनको माध्यम मात्रै होइन । यो त अनुशासित स्वस्थ युवा शक्ति तयार पार्ने आधारसमेत हो । खेलकुदको विकास गर्न पर्याप्त पूर्वाधार हुनुपर्ने विष्णुगोपाल बताउँछन् । सातै प्रदेशमा रंगशालाको आवश्यकता देखेका छन् उनले । ती सबै पूर्वाधारको निर्माण आर्थिक वर्षमा छुट्याइएको बजेट मात्रै पर्याप्त हुँदैन । उद्योगहरूबाट उत्पादन हुने कच्चापदार्थमा छुट्याइने एक–दुई रुपैैयाँबाट यस्ता भौतिक पूर्वाधार तयार पार्न सकिन्छ । उदाहरणका लागि प्रतिबोरा सिमेन्टको मूल्यमा १ रुपैयाँ रंगशाला निर्माणका लागि थपिदिँदा क्रेतालाई भार पनि नपर्ने र खेलकुदको भौतिक पूर्वाधार निर्माण पनि हुने उनको भनाइ छ ।  

उनी राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष हुँदा खेलकुदको बजेट २६ लाख थियो । अहिले झण्डै दुई अर्ब बजेट खेलकुदका लागि छुट्याइएको छ । यसलाई अपर्याप्त भन्दैनन् उनी । भन्छन्, ‘सरकारको प्राथमिकतामा खेलकुदभन्दा शिक्षा, स्वास्थ्य, बाटो, पुललगायत छन् ।’ त्यसैले खेलकुदको विकासका लागि यस्ता तरिका अपनाउनुपर्ने उनको धारणा छ । यसरी लगानी गर्न कसैले पनि नाइनास्ती नगर्ने उनी बताउँछन् । 

समाजसेवी मन 

विष्णुगोपाल ललितपुरको धापाखेलमा बस्छन् । धापाखेलमा बस्ने ज्येष्ठ नागरिकका लागि उनी सल्लाहकार भएको संस्थाले चारवटा शनिबारका लागि चार खालका कार्यक्रम आयोजना गर्छ । पहिलो शनिबार धार्मिक ग्रन्थ अध्ययन र पाठ, दोस्रोमा भजन, तेस्रोमा मनका कुरा साटासाट, चौथोमा उक्त महिनाभरि परेका जन्मदिन मनाउने । धापाखेल क्षेत्र सुधार समितिअन्तर्गत रहेको धापाखेल ज्येष्ठ नागरिक समाजले यो कामको संयोजन गर्छ । ज्येष्ठ नागरिकका लागि यो काम अत्यन्तै फलदायी भएको अनुभव सँगालेका छन् उनले । 

साढे दश वर्षअघि धापाखेलको स्थायी बासिन्दा बनेर आएका विष्णुगोपालले आएको २० दिन कसैलाई भेटेनन् । मात्रै धापाखेलको अवस्था र आवश्यकता बुझे । जीवनको बाँकी समय यही ठाउँमा बिताउने निधो गरेका उनको मनमा यस्तो विचार आयो, जसले धापाखेललाई सुरक्षित ठाउँ बनाउन सकियोस् । त्यसैले, उनले राजनीतिक दलका इकाइ इन्चार्ज, बौद्धिक व्यक्ति लगायतलाई भेटे र छलफल गरे । त्यतिखेर धापाखेल त्यहाँ धापाखेल क्षेत्र सुधार समितिमार्फत त्यहाँको गतिविधि भइरहेको थियो । समितिको नेतृत्वमा उनले यो ठाउँलाई सुरक्षित बनाउन के गर्न सकिन्छ भन्नेतर्फ छलफल गरे । धापाखेलबासीको साथ र सहयोगले उनले थालेको छलफल फलदायी हुँदै गयो । 

प्रहरीको पेट्रोलिङ सुरु भयो । युवाहरूले समेत पेट्रोलिङको काम थाले । जाँडरक्सी खाने, गाँजा खानेले हिँड्डुल गर्नेलाई धुरुक्कै बनाएका थिए । प्रहरीको पेटोलिङपछि त्यो ठाउँ सुरक्षित हुन थाल्यो । सामाजिक कामको अर्को उदाहरण बन्यो उनको, श्रीमद्भागवत पुराणबाट उठेको रुपैैयाँबाट समितिको भवन निर्माण । यो भवन निर्माणको काम सम्पन्न भइसकेको छ । 

त्यति मात्रै होइन, नेपाल–जापान कोअर्डिनेसन काउन्सिल र नेपाल टोकोसीमा जापानमैत्री संघको सहयोगमा देशभरका धेरैवटा नगरपालिकालाई दमकल र एम्बुलेन्स विष्णुगोपालकै पहलमा प्राप्त भएका छन् । उनी यी दुई संस्थाका अध्यक्ष हुन् । नेपालका विभिन्न महानगर र नगरलाई गरी दुई दर्जन दमकल र दुई दर्जन एम्बुलेन्स उपलब्ध भएको छ । 

सबैलाई सम्मान गर्ने सबैका प्यारा गोलकिपर, दयालु मनका समाजसेवी मात्रैले विष्णुगोपालको परिचय पूरा हुँदैन, उनको अर्को परिचय पनि छ, त्यो हो फिल्म निर्माता । जसले शिव श्रेष्ठ हिरो भएको फिल्म चिनो निर्माण गरे । सकारात्मक सोच र ऊर्जाशील र सधैं नयाँ र राम्रो काम गर्न उत्साहित हुने विष्णुगोपालको क्रियाशील र स्वस्थ दीर्घजीवनको कामना ।