काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा व्यक्तिगत निर्णयमा सामूहिक जिम्मेवारी हाबी भएको बताएका छन् । शुक्रबार ललितपुरमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिले सामूहिक निर्णयमा पनि व्यक्तिगत जिम्मेवारी हुने गरेको भए पनि अहिले अवस्था उल्टो भएको बताएका हुन् ।
पार्टीमा अनुशासनको स्तर गिर्दै गएको प्रति अध्यक्ष दाहाल चिन्तित देखिएका छन् । हिजोको अनुशासनले पार्टीलाई अहिलेको हैसियतमा पु¥याएको भए पनि आजभोलि अनुशासनको स्तर गिरेर संगठनको हितलाई बेवास्ता गर्ने अवस्था आएको बताए ।
दाहालले भने, ‘हामी हिजो निकै अनुशासित थियौं, जसका कारण मात्रै हामी यहाँ आइपुगेका हौं । आजभोलि अनुशासनको स्तर गिरेर जलाई जे मन लाग्यो बोल्ने, संगठनको हितलाई बेवास्ता गर्ने अवस्था सिर्जना भएको छ ।’
अध्यक्ष प्रचण्डले पार्टीको कार्यशैली कम्युनिष्टको जस्तो नभएको बताएका छन् । जनतासँग गरेको वाचा र प्रतिबद्धता भुलेर अगाडि बढ्दा अहिलेसम्म प्राप्त सबै उपलब्धि गुम्न सक्नेतर्फ उनले सचेत गराए ।
दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिबद्धताहरू बिर्सिंदै जाने प्रवृत्ति विश्वभरका कम्युनिष्टको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत्त हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए ।
‘कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिवर्तन हुन समय लाग्दैन’ उनले भने, ‘विश्वभरका कम्युनिष्टहरूको समस्या भनेकै सत्तामा नपुग्दासम्म त्याग तपस्या गर्ने बलिदान दिने र सत्तामा पुगेपछि जनतासँग गरेका वाचाहरू बिर्सिंदै जाने । जनताका आवश्यकताहरू, चाहना बिर्सने र आफूले गर्नुपर्ने कामहरू पनि बिर्संदै जाने हो ।’
‘कम्युनिष्टहरू राजामहाराजा’
अध्यक्ष दाहालले राजामहाराजाहरूलाई लेखेट्ने कम्युनिष्टहरू पनि उनीहरूजस्तै देखिन थालेपछि जनता चुप लागेर नबस्ने बताए । विश्वको इतिहासमा यी सबै कुरा सही सावित भएको बताउँदै उनले राजा महाराजविरुद्ध लडेका जनता कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि यिनलाई पनि लखेट्नुपर्छ भन्नेमा लागेको यो विडम्बना पनि इतिहासमा देखिएको बताए । उनले वर्तमान राज्यसत्ता प्राप्तिका लागि विगतमा आफंैले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सधंै सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको बताए ।
श्रीमान श्रीमती झगडा हो : नेपाल
नेकपा नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीचको झगडा सामान्य भएको भन्दै गम्भीर रूपमा नलिन आग्रह गरेका छन् । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा नेपालले अध्यक्ष ओलीसँग सचिवालय बैठकमा भएको भनाभनप्रति आफू गम्भीर रहेको बताए ।
‘यो घरमा श्रीमान् श्रीमतीको झगडा भयो भनेर दिक्क मान्नु ? त्यही हो । बिहे गर्नु नै बेकार रहेछ । छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन । आएका समस्या कसरी समाधान गर्ने ? समस्या त आउँछन्,’ नेपालले भने ।
नेपालले विषयवस्तुमाथिको बुझाइमा एकरूपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद आउने गरेको पनि बताए ।
‘झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निराश हुने होइन, समस्या समाधानका लागि हो । राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामना गर्दै अघि बढ्नुपर्छ,’ उनले भने ।
नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखेका थिए ।
नेकपा नेताहरूले प्रधानमन्त्री ओली र नेता नेपालबीचको विवाद भनाभन नभई पार्टीभित्र हुने वहस हो भन्दै यसलाई धेरै उछाल्न आवश्यक नरहेको धारणा राखेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेकपा विचार केन्द्रित पार्टी भएकोले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको बताए । उनले भने, ‘हाम्रो पार्टीभित्र नेताहरूबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होइनन् । आन्तरिकरूपमा हामी हल गर्छौं ।’ उनले नेता नेपालले बुझाएको ‘नोट अफ डिसेन्ट’ पनि प्रक्रियागत कुरा भएकाले पार्टी पद्धतिअनुसार समाधान हुने बताए । उनले त्यस्तो नोट अफ डिसेन्ट पार्टीको सम्पत्तिको रुपमा रहने पनि बताए । अर्का स्थायी समिति सदस्य आनन्द कुमार पोखरेलले कम्युनिष्ट आन्दोलनभित्र मतभेद हुने गरेको र छलफल र बहसलाई विवादका रूपमा लिन नहुने बताए । उनले भने, ‘बैठकमा माधव नेपालले नोट अफ डिसेन्ट राख्नुभयो, यसलाई हाउगुजी बनाईयो, यसमा अतिशोयोक्ति प्रचार भयो, बैठकमा त पत्रकारहरू त हुनुहुन्थेन ।’
दाहाल–नेपाल भेट
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । शुक्रबार नेता नेपाल दाहाललाई भेट्न खुमलटार पुगेको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भनाभन भएपछि दाहालसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग नेता नेपालको सचिवालय बैठकमै भनाभन भएको थियो । ओली उपचारका लागि सिंगापुर उडेको भोलिपल्टै उनले दाहालाई भेटेका हुन् । नेपालले दिएको शुभकामना सन्देश लिन ओलीले अस्वीकार गरेपछि सचिवालय बैठकमा उनीहरूको भनाभन भएको थियो । दाहालले बोलाएपछि शुक्रबार बिहान नेपाल बिहान खुमलटारस्थित दाहाल निवास पुगेका थिए ।



















