काठमाडौं := गत पुस अन्तिम साता काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट उत्कर्षमा पुगेको आन्तरिक विवादमा मिलाउन नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच संवाद सुरु भएको छ । पार्टीको तत्कालीन केन्द्रीय कार्यसमिति र संस्थापन पक्षको असहमतिबीच भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापति चयन हुनुभएको थियो । सोही विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले समेत आधिकारिकता दिए पनि हालसम्म कांग्रेसभित्र राजनीतिक लडाइँ कायमै छ ।
असन्तुष्ट समूह गुटगत भेला र बैठक गरिरहेको छ । कतिपय नेताहरूले पार्टी औपचारिक विभाजन उन्मुख भइसकेको टिप्पणी गरिरहेको बेला शीर्ष नेताहरू भने आन्तरिक विवाद समाधानको प्रयासमा जुटेका छन् । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीभित्र देखिएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा देखिएको विवाद समाधानका लागि सभापति थापालाई नै जिम्मेवारी दिएको थियो ।
सोहीअनुसार सभापति थापाले असन्तुष्ट नेताहरूसँगको संवाद सुरु गर्नुभएको छ । सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहनु भएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालासँग विवाद समाधानको पहलस्वरूप संवाद गर्नुभएको छ । निवर्तमान कार्यवाहक सभापति खड्कालाई गोल्फुटारस्थित उहाँकै निवासमा पुगेर सभापति थापाले वैशाख ६ गते साँझ भेट्नुभएको थियो ।
यस्तै, वैशाख १५ मा सभापति थापा र असन्तुष्ट पक्षका नेता रमेश लेखकबीच भेटवार्ता भएको थियो । डा.कोइरालालाई वैशाख २२ गते मंगलबार विशालनगरस्थित उहाँकै सचिवालयमा पुगेर भेट्नुभएको थियो । आन्तरिक विवाद समाधानको प्रयासस्वरूप निवर्तमान कार्यवाहक सभापति खड्कासँग सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले बुधबार उहाँकै निवास गोल्फुटार पुगेर भेटवार्ता गर्नुभएको छ ।
तीन नेताबीच बिहान डेढ घण्टा छलफल भएको जानकारी दिँदै खड्काका स्वकीय सचिव गौतम बिसीले भन्नुभयो, ‘तीन नेताबीच बिहान ११ बजेदेखि साढे १२ बजेसम्म डेढ घण्टा कुराकानी भयो । पार्टीको विवाद समाधान गरी अगाडि बढ्ने सहमति बनेको छ ।’ विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रोपटक हो । सभापति थापासँगको पहिलो भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको वैशाख १५ गते महाराजगञ्जस्थित स्मार्ट होटलमा भएको भेलामा ब्रिफिङ गर्नुभएको थियो ।
पार्टीभित्रको विवाद समाधान गर्न सभापति थापा र अन्य पदाधिकारीले पनि अनौपचारिक रूपमा अन्य नेताहरूसँगको छलफललाई पनि जारी राखेका छन् । सभापति थापाले मंगलबार नेता डा.कोइरालासँगको भेटमा पनि विवाद मिलाउने विषयबारे सुझाव माग्नुभएको थियो । जवाफमा डा. कोइरालाले विवाद समाधानको सूत्र ल्याएर आउन सुझाव दिनुभएको जानकारी दिँदै कोइरालाको सचिवालयले भनेको छ, ‘सभापतिज्यूले मिलाउने विषय के के हुन् दिनुस् । म मिलाउन तयार छु भन्नुभयो । जवाफमा शेखर दाइले सभापति तपाईं हो । यसरी मिलाउनुपर्छ भन्ने योजना ल्याएर आउनुस् भन्नुभयो ।’
नेता डा. शेखर कोइरालाले सभापति थापासँगको छलफलपछि निवर्तमान कार्यवाहक सभापति खड्का र नेता अर्जुननरसिंह केसीसँग पार्टी विवाद समाधानबारे छलफल गर्नुभएको छ । खड्कासँग मंगलबार आफ्नै विशालनगरस्थित सचिवालयमा र केसीसँग केसी निवासमा पुगेर भेट गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ । दुवै भेटमा पार्टीभित्र विशेष महाधिवेशनपछि देखिएको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल भएको थपलियाले जानकारी दिनुभएको छ ।
पार्टी सहमहामन्त्री उदयशमशेर राणाले विधानको परिधिभित्र रहेर विवाद समाधान गर्न आफूहरू तयार रहेको र त्यसैअनुरूप नेताहरूलाई सभापतिले भेटिरहेको जानकारी दिँदै भन्नुभयो, ‘विधानअनुरूप मिल्नसक्ने सबै विषय मिलाएर अगाडि बढ्न हामी तयार छौँ । त्यसका लागि सभापतिज्यूले नेताहरूलाई भेट्ने कुराकानी भएको छ । त्योअनुसार उहाँले नेताहरूलाई भेटिरहनु भएको छ ।’ आधिकारिकता विवादमा सर्वोच्चको फैसलापछि पनि खड्का पक्ष यही वैशाखमा १५औँ महाधिवेशन गर्नुपर्ने अडानमा छ । संस्थापन पक्षले भने पार्टी महाधिवेशनमा आगामी असोजमा गर्ने निर्णय गरेको छ ।
शीर्ष नेताहरूबीच संवाद हुनु महत्त्वपूर्ण : विश्वकर्मा
निवर्तमान कार्यवाहक सभापति खड्का पक्षका नेता मीन विश्वकर्माले पार्टीभित्र जारी आन्तरिक संवाद र एकताको प्रयासले सकारात्मक संकेत दिएको बताउनुभएको छ । पार्टीभित्र विभाजन औपचारिक रूपमा नभए पनि मनोवैज्ञानिक र संरचनात्मक रूपमा एकता नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘शीर्ष नेताहरूबीच संवाद सुरु हुनु नै महत्त्वपूर्ण उपलब्धि हो ।
एकथरी साथीहरू विद्रोही शैलीमा आउनुभयो र आधिकारिक समिति विस्थापित गर्नुभयो, त्यसलाई अदालतहरू आयोगहरूले मान्यता दियो । तर, त्यो पार्टी एक भएन ।’ पार्टी एक बनाउनका लागि शीर्ष नेताहरूले अर्को पार्टी बनाउन रोकेको उल्लेख गर्दै विश्वकर्माले भन्नुभयो, ‘साथीहरूलाई रोकेर फकाएर भए भने र भनेर मिलाएर राखिरहनु भएको छ। अब यो बेलामा पार्टीका जसले आधिकारिक जिम्मेवारी पाउनुभयो त्यो जिम्मेवारी पाउने साथीहरूले संवाद सुरु गर्नुपर्छ भनेका थियौँ त्यो भएको छ ।’
अब नियमित संवाद हुन्छ : प्रवक्ता चालिसे
प्रवक्ता देवराज चालिसेले विधानको परिधिभित्र रहेर पार्टीलाई मिलाउन संस्थापन लचिलो भएर अगाडि बढ्ने बताउनुभएको छ । विवाद समाधानका लागि शीर्ष नेताहरूबीच अब नियमित भेटवार्ता सुरु भएको जानकारी दिँदै प्रवक्ता चालिसेले भन्नुभयो, ‘नियमित भेटघाट अब भइरहन्छन्, हामी पार्टीलाई एकताबद्ध बनाउनुपर्छ भन्ने पक्षमा छौँ । पार्टीले दिएको जिम्मेवारीअनुसार सभापतिले छलफल थाल्नुभएको छ ।’




















