‘कश्मीरबारे बोल’

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारले कश्मीर समस्याबारे नेपालको धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै देवले छिमेकी मुलुकहरूले आआफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बसेको भन्दै धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । कांग्रेस सदस्य देवले कश्मीर समस्याबारे मौन बस्नु सफल कूटनीति नहुने भन्दै राष्ट्रिय सहमतिका साथ यसबारे सरकारले धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘नजिकबाट नियाल्दै छौं भनेर परराष्ट्रमन्त्रीज्यूले भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ ? कहिलेसम्म नियालिराख्ने ? आँट छ भने यो सरकारले बोलोस् । के बोल्छ बोलोस् अनि नेपाली कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रयत्न गर्दै छ भन्ने सन्देश गएको उल्लेख गर्दै उनले यस्तो सन्देशले नेपाललाई भविष्यमा समस्या पार्ने चेतावनी दिए । भारतसँगको कूटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न उनले आग्रह गरे । देवले नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए । उनले सन् १९५० को सन्धिका बारेमा नेपालले आफ्नो कुरा राख्न नसकेको भन्दै असन्तुष्टि जनाए । २०४८ सालमै उठेको विषयमा अहिले पनि अगाडि नबढेर आवश्यक रोडम्याप बनाउन दुवै देशका परराष्ट्र सचिवलाई दिएको निर्देशनलाई उपलब्धि मान्न नसकिने नेता देवको तर्क थियो ।