हङ्कङ । केही दिनअघि हङ्कङका सडकमा १७ लाख प्रजातन्त्रवादी प्रदर्शनकारीहरू भेला भएको आयोजकहरूले बताएका छन् । प्रहरीले चाहिँ प्रदर्शनकारीहरूको संख्या त्योभन्दा कम रहेको दाबी गरेको छ । तर, विगत तीन महिनादेखि आन्दोलन चर्किँदै जाँदा चीनले हङ्कङका प्रजातन्त्रवादीमाथि दमन गर्न सुरु गर्ने हो कि, भन्ने चिन्ता बढेको छ । सन् १९९७ मा ब्रिटिस साम्राज्यबाट मुक्त भएको हङ्कङमा त्यस्तो कदमले के कस्तो प्रभाव पार्छ त्यो अनिश्चित छ । तर, त्यस्तो कदमले चीनलाई ठूलो जोखिम हुनेछ ।
उसको विशेष प्रशासित क्षेत्रको रूपमा रहेको हङ्कङ एसियाको एउटा मुख्य आर्थिक केन्द्र हो । हङ्कङको तुलनात्मकरूपमा बढी स्वतन्त्र वातावरणका कारण बेइजिङलाई धेरै लाभ पुगेको छ । बीबीसी चिनियाँ सेवाका सम्पादक हाबर्ड झाङका विचारमा बेइजिङले हङ्कङमा केही कदम चाल्नसक्ने संकेत दिइसकेको छ । हालैका दिनहरूमा बेइजिङले हङ्कङका प्रदर्शकारीसँग कडा व्यवहार गर्ने संकेत दिँदै उनीहरूलाई ‘आतंकवादी’ सँग तुलना गरिसकेको छ । चिनियाँ सामाजिक सञ्जालहरूमा पनि प्रदर्शनविरोधी सामग्रीको संख्या बढेको छ । चीनले सामाजिक सञ्जालबाट हङ्कङमा भइरहेको आन्दोलनबारे भ्रामक सूचना फैलाउने अभियान चालेको पत्ता लागेको दाबी ट्वीटर र फेसबुकले गरेका छन् ।
बिरलै तर स्पष्ट चेतावनी दिँदै ब्रिटेनका लागि चिनियाँ राजदूत लिउ सियाओमिङले भनिन्, ‘यदि अवस्था अझै खराब भएर हङ्कङ सरकारले धान्नै नसक्ने स्थिति आयो भने चीनको केन्द्रीय सरकारले टुलुटुलु हेरेर मात्र बस्ने छैन ।’ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्कङमा हिंसात्मक दमन सुरु होला कि, भनेर आफू चिन्तित भएको बताएका छन् । उनले अगष्ट १३ तारिखमा ट्वीटरमा सन्देश लेख्दै हङ्कङ नजिकै पर्ने चिनियाँ मुख्य भूमिको सन्जनमा चिनियाँ सेना भेला भएको भन्दै चेतावनी दिएका थिए । त्यसको केही घण्टाअघि चिनियाँ उपप्रधानमन्त्री स्टेट काउन्सिलर जेइची याङले अमेरेकी विदेशमन्त्री माइक पोम्पेओसँग न्युयोर्कमा भेटवार्ता गरेका थिए ।
एघार हप्तादेखि प्रदर्शन चर्किरहेकोले हाल हङ्कङ सहरको अर्थतन्त्रमा प्रभाव देखिन थालिसकेको छ । अर्थतन्त्रको २० प्रतिशत भाग ओगटेको पर्यटन र खुद्रा व्यापारमा त्यसको प्रत्यक्ष असर परिरहेको छ । वित्त क्षेत्रमा काम गर्ने मानिस तथा विमानस्थल र अन्य क्षेत्रका कर्मचारीहरू प्रदर्शनमा सहभागी भइरहेका छन् । त्यसले एसियाकै प्रमुख व्यापारिक केन्द्रका व्यवसायहरूलाई प्रभावित तुल्याइदिएको छ । प्रदर्शनका कारण अर्थतन्त्रमा असर पर्न थालिसकेको छ । गत अगष्ट ५ तारिखमा भएको जस्तो प्रदर्शनका कारण झण्डै चार करोडदेखि ३३ करोड अमेरिकी डलरसम्म घाटा हुने अनुमान विज्ञहरूले गरेको साउथ चाइना मर्निङ पोष्ट समाचारपत्रले जनाएको छ । झाङ भन्छन्, ‘चीनले प्रदर्शनकारीलाई चलाउन थाल्यो भने त्योभन्दा चर्को मूल्य चुकाउनुपर्ने स्थिति आउनसक्छ ।
चीनको अर्थतन्त्रका लागि हङ्कङ व्यापारिक र आर्थिक दुवै किसिमले महŒवपूर्ण छ । चिनियाँ आधिकारिक तथ्यांकअनुसार सन् २०१७–१८मा चीनमा गत १ सय २५ अर्ब अमेरिकी डलर वैदेशिक लगानीमध्ये ९९ अर्ब डलर हङ्कङ हुँदै गएको थियो । त्यो कुल आर्थिक प्रवाहको ८० प्रतिशत हो । कानुनी शासन र स्वतन्त्र न्यायालय भएका कारण विदेशी कम्पनीहरू हङ्कङमार्फत चीनमा लगानी गर्न सुरक्षित हुने ठान्छन् । झाङका अनुसार व्यापार, भन्सार र प्रविधिमा अमेरिकाले पनि हङ्कङलाई विशेष सहुलियत प्रदान गर्छ । हङ्कङ हुँदै चीन भिœयाउने हो भने अमेरिकाबाट आयातित प्राविधिक सामानमा अमेरिकाले लगाउने थप कर छल्न चीनलाई पनि सहयोग पुग्छ ।
‘विश्व बजारमा पुग्न चाहने चिनियाँ मुख्य भूमिका कम्पनीहरूका लागि पनि हङ्कङ मुख्य जग हो,’ लण्डनको क्यापिटल इकनोमिक्स नामक संस्थाका वरिष्ठ एसिया अर्थशास्त्री ग्यारेथ लेदर भन्छन् ।
चीनको वैदेशिक मुद्रा सञ्चयका लागि पनि हङ्कङ महŒवपूर्ण छ । गत जुलाईमा ४ सय ४८ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा हङ्कङमा रहेको थियो जसलाई विश्वकै सातौं ठूलो वैदेशिक मुद्रा सञ्चय मानियो । ‘७० लाख जनसंख्या भएको हङ्कङमा भारत, दक्षिण कोरिया र ब्रजिलमाभन्दा पनि बढी वैदेशिक मुद्रा सञ्चित छ,’ झाङ भन्छन् । चीनलाई दुई दशकअघि हङ्कङ जति आवश्यक थियो अहिले त्यति नहोला । सन् १९९७ मा भूतपूर्व ब्रिटिस साम्राज्यको रूपमा रहेको हङ्कङ पुनः चीनको नियन्त्रणमा फर्कँदा हङ्कङको अर्थतन्त्रले चीनको समग्र अर्थतन्त्रको १८ प्रतिशत भाग ओगटेको अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको तथ्यांकले देखाउँछ । गत वर्ष हङ्कङले चीनको कुल गार्हस्थ उत्पादनको २ दशमलव ७ प्रतिशत भाग ओगटेको थियो ।
तर, त्यति हुँदाहुँदै पनि चीनका लागि हङ्कङको महŒव धेरै छ । त्यत्रो महŒव भए पनि चीनले हङ्ङमा जारी प्रदर्शन रोक्न कति स्रोत र शक्ति खर्च गर्ला भनेर लगानीकर्ताहरू अहिले सोचमग्न छन् । अर्थशास्त्री लेदरका विचारमा चिनियाँ सरकारका लागि सबैभन्दा ठूलो कुरा नियन्त्रण कायम राख्नु हो । तर, हङ्कङको स्वायत्ततामा अप्ठ्यारो पर्नेगरी गरी चीनले कुनै कदम चाल्नु व्यापारका लागि घातक मानिनेछ । हङ्कङ सरकारले यस वर्षको आर्थिक वृद्धिदरमा कमी आउने अनुमान गर्दै त्यो दर दुईदेखि तीन प्रतिशतमा सीमित हुने आंकलन गरेको छ । त्यो दर पोहोर तीन प्रतिशतभन्दा बढी थियो । हालै बैंक तथा वित्तीय संस्थाहरूले आप्mनो वृद्धिदर एक प्रतिशत वा त्योभन्दा पनि कममा सीमित हुने प्रक्षेपण गरेका छन् । हङ्कङले यदि ठूलो मन्दीको सामना गर्ने अवस्था आएमा त्यसको असर चीनमा पर्ने सम्भावना बढी छ ।



















