बार्सिलोना । लियोनल मेस्सी अन्ततः बार्सिलोनाको टोलीसँगै प्रशिक्षणमा फर्किएका छन् । प्री सिजनको पहिलो अभ्यासका क्रममा दुईहप्ताअघि मेस्सी घाइते भएका थिए । जसका कारण मेस्सीले बार्सिलोनाको यस सिजनको एथ्लेटिको बिल्बाओविरुद्धको पहिलो खेल गुमाएका थिए ।
मेस्सीले बुधबार बिहान एक्लै अभ्यास गरेपनि दिउँसो भने टिमसँगै अभ्यास गरेका थिए । पिडौंलाको इञ्जुरीका कारण मेस्सीले १६ दिन मैदानबाहिर विताएका थिए । मेस्सी अभ्यासमा फर्किएसँगै ला लालिगामा आइतबार हुने खेल उनले खेल्ने विश्वास गरिएको छ । मेस्सीले चोटका कारण एथ्लेटिको बिल्बाओविरुद्धको खेल गुमाउँदा बार्सिलोना १–० ले पराजित भएको थियो । उक्त खेलमा मेस्सी नहुँदा ओसामाने डेम्बेले, लुइस सुआरेज र एन्टिनियो ग्रिजम्यानले बार्सिलोनाको अग्रपंत्ती सम्हाले पनि बार्सिलोना स्तब्ध बनेको थियो । कोपा अमेरिकामा निराशाजनक प्रदर्शनपछि मेस्सी आइतबार रियल बेटिसविरुद्धको खेलमा मेस्सी फर्कने अनुमान गरिएको छ । सुआरेज र डेम्बेलेपनि पहिलो खेलपछि चोटग्रस्त भएपछि प्रशिक्षक इर्नस्टो भेलभर्डेले बी टोलीका इन्की पेना, छुमी, कार्लोस पेरेज, अबिल रुइजलाई पनि रियल बेटिसविरुद्धको खेल अघि अभ्यासमा बोलाएका छन् ।




















