एजेन्सी := पोर्चुगलका विश्वप्रसिद्ध फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना चिरप्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पार्दै इतिहासकै उत्कृष्ट बालोन डी’ओर विजेता सिजनको विशेष सम्मान जितेका छन्। विश्व फुटबलको प्रतिष्ठित बालोन डी’ओर अवार्डसँग सम्बन्धित विशेष अनलाइन मतदानमा रोनाल्डो पहिलो स्थानमा आएका हुन्।
फ्रान्स फुटबलले आयोजना गरेको B.O.A.T. (Ballon d’Or of All Time)नामक मतदानमा रोनाल्डोको सन् २००८ को ऐतिहासिक प्रदर्शनले सर्वाधिक समर्थन प्राप्त गरेको हो। अक्टोबर २८ मा सार्वजनिक अन्तिम नतिजाअनुसार रोनाल्डो पहिलो र अर्जेन्टिनी स्टार लियोनल मेस्सी दोस्रो स्थानमा रहेका छन्। रोनाल्डोले सन् २००७/०८ को सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्दै ४२ गोल गरेका थिए।
उनको उत्कृष्ट प्रदर्शनकै कारण म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यही ऐतिहासिक प्रदर्शनका आधारमा रोनाल्डोले सन् २००८ मा आफ्नो करियरको पहिलो बालोन डी’ओर जितेका थिए। अहिले समर्थकहरूको मतदानले उनको त्यही सिजनलाई इतिहासकै उत्कृष्ट बालोन डी’ओर विजेता सिजनका रूपमा छनोट गरेको हो।
यस विशेष मतदानमा मेस्सीको सन् २०१२ को प्रदर्शन दोस्रो स्थानमा रह्यो। मेस्सीले उक्त वर्ष क्लब र राष्ट्रिय टोलीका लागि कुल ९१ गोल गर्दै विश्व फुटबलमा कीर्तिमान बनाएका थिए।त्यस्तै रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दै सन् २०१७ मा जितेको बालोन डी’ओर तेस्रो स्थानमा रह्यो। रोनाल्डोको उपलब्धिपछि पूर्वक्लब म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडले समेत उनलाई बधाई दिएका छन्।
रियल म्याड्रिडले आधिकारिक वेबसाइटमार्फत उनको ऐतिहासिक उपलब्धिको प्रशंसा गरेको छ। रोनाल्डोले आफ्नो करियरमा पाँचपटक नियमित बालोन डी’ओर जितेका छन् भने मेस्सीले आठपटक यो प्रतिष्ठित अवार्ड हात पारेका छन्। तर यसपटकको सम्मान नियमित बालोन डी’ओर पुरस्कारभन्दा फरक हो। यो समर्थकहरूले अनलाइन मतदानबाट छनोट गरेको विशेष सम्मान हो।




















