वीरगन्ज । वीरगञ्ज भन्सार कार्यालयले ज्यादती गरेको भन्दै सीमावर्ती रक्सौलका स्थानीयहरूले गरेका नाकाबन्दी ६ घण्टापछि खुलेको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको पहलमा भारतीयहरूले आन्दोलन फिर्ता लिएपछि वीरगञ्ज–रक्सौल भन्सार बुधबार दिउँसोबाट सञ्चालनमा आएको हो ।
नेपाल र भारतबीचको सम्बन्ध रोटीबेटीमा आधारित भन्दै सांसद यादवले भारतीय नागरिकसँग भविष्यमा कुनै प्रकारको अभद्र व्यवहार नहुने आश्वासन दिएपछि भारतीयहरूले आन्दोलन फिर्ता लिएका हुन् । वीरगञ्ज आउने भारतीय नागरिकहरूसँग वीरगञ्ज भन्सारका कर्मचारी तथा सुरक्षाकर्मीहरूले अभद्र व्यवहार गर्नुका साथै भन्सार तथा इन्ट्रीको कागज हुँदाहुँदै सामान जफत गर्ने गरेको भन्दै रक्सौलमा नाकाबन्दी गरिएको थियो । प्रदर्शनकारीले भारतीय भन्सारमा पनि नेपाली गाडीहरूलाई इन्ट्री गर्न माग गर्दै बुधबार बिहानैदेखि रक्सौल कस्टम अगाडि नेपालको विरोधमा चर्को नारावाजी गरेका थिए ।
भारतीय जनता पार्टीका स्थानीय नेता महेश अग्रवालको नेतृत्वमा आन्दोलन भइरहेको स्थानमै पुगेर सांसद यादवले भारतीय कस्टमका प्रमुख तथा सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए । उनले नेपाल–भारत सम्बन्धलाई बिगार्न केही तŒव लागेको भन्दै त्यस्ता तŒवबाट सावधान रहन आग्रहसमेत गरेका थिए ।
सांसद यादवले वीरगञ्ज भन्सार कार्यालयमा इन्ट्रीलाई अझ व्यवस्थित गर्ने र पक्राउ परेका भारतीय मोटरसाइकललाई कागज हेरी कानुनअनुसार छाड्ने आश्वासन दिएपछि भारतीयले आन्दोलन फिर्ता लिएका हुन् ।



















