काठमाडौं । राजधानीको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक जोडी मृत अवस्थामा भेटिएका छन् । टोखा नगरपालिका–६ मा पर्ने मोरङ पर्वत धवलागिरि गेस्ट हाउसमा चितवनका ३४ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३७ वर्षीया सबिना बजगाईं मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।
बजगाईंको माइतीघर काभ्रे रहेको र उनका पति वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।
उनीहरू मंगलबार राति ११ बजेर ५ मिनेटमा होटलमा आएको र बिहान खाना खानका लागि वेटरले बोलाउन जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको बताइएको छ । प्रभागका प्रहरी निरीक्षक सन्तोष दाहालले दुई पटकसम्म पनि वेटरले ढोका ढकढक गर्दा नखुलेपछि प्रहरीलाई जानकारी गराइएको बताए ।
‘हामीलाई घटनाका बारेमा जानकारी आएपछि होटल मालिक र स्थानीयको रोहबरमा ढोका फोडेर भित्र जाँदा दुवैजना मृत अवस्थामा भेटिएका थिए,’ उनले भने । प्रहरीका अनुसार महिला खाटमा र पुरुष भुइँमा लडेको अवस्थामा दुवै जनाको शव नग्न अवस्थामा फेला परेको थियो । उनीहरू गेस्ट हाउसको कोठा नम्बर १११ मा बसेका थिए ।
घटनास्थलबाट मदिराका बोतल भेटिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार त्यहाँ उडुस मार्ने विषसमेत भेटिएको छ । तर, के कारणले मृत्यु भएको हो भन्ने कुरा पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
दुवै शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















