फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अनुगमन

इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको स्थलगत अनुगमन गरेका छन् । सो विमानस्थल निर्माणले इलाममा आन्तरिक पर्यटन बढाउने विश्वास लिइएको उनले बताए ।

मन्त्री भट्टराईले विमानस्थल निर्माणका लागि ठेक्का सुरु भइसकेको जानकारी दिए । १५ महिनामा काम सम्पन्न गर्नेगरी दिइएको ठेक्काको एक महिना अवधि गुज्रिसकेको भन्दै उनले अबको १४ महिना वा त्योभन्दा अगाडि नै काम सम्पन्न गर्नेगरी अगाडि बढेको बताए ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले विमानस्थल आवश्यक भएर नै निर्माण थालिएको प्रस्ट पारे । ‘अब विमानस्थल बन्दैन कि भन्ने भ्रममा नपर्नुस्,’ उनले भने, ‘पार्किङ र धावन मार्गको काम भइरहेको छ । अब निराश भइरहनुपर्दैन ।’

इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ नजिकै निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको २०७५ सालमा पहिलोपटक सफल परीक्षण उडान भइसकेको छ । आठ वर्ष अघि नै विमानस्थल निर्माणको प्रक्रिया सुरु भए पनि बजेट अभाव र जग्गा व्यवस्थापनमा अल्मलिएका कारण काम अघि बढ्न सकेको थिएन । 

विमानस्थल निर्माणबाट मेचीका पहाडी जिल्ला र सीमापारि भारतको दार्जिलिङ र सिक्किमका समेत बासिन्दा लाभान्वित हुनेछन् । हालसम्म विमानस्थलको कच्ची धावनमार्ग निर्माण भइसकेको छ भने भल व्यवस्थापनको लागि माईखोलासम्म नाली निर्माणको काम सकिएको छ । विमानस्थल निर्माणमा हालसम्म १७ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।