काठमाडौं । नेपाल वायुसेवा निगमकोे तोकिएकै समयमा जापान उडान गर्ने भएको छ । भदौ १२ गतेबाट जापानको ओशाका उडान गर्ने निश्चित भएको निगमले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निमगका कार्यकारी अध्यक्ष मदन खरेलले तोकिएकै समयमा ओशाका उडान गरिने बताए । सुरुको एक महिना यात्रुको संख्यामा केही कम भए पनि अक्टुबरदेखि यात्रुको संख्या बढ्ने उनले बताएका छन् ।
उनका अनुसार उडान निश्चित भए पनि टिकटको बिक्री भने खासै हुन सकेको छैन । पहिलोपटक उडान भएकाले आधा टिकटमात्रै बिक्री भए पनि ठूलो उपलब्धि उनको भनाइ छ । काठमाडौं–जापान उडानमा कम्तीमा पनि ५० लाखदेखि ६० लाख रुपैयाँ खर्च हुन्छ । तर निगमले टिकट बिक्री गर्न नसक्दा थप ऋणको भार बढ्ने डर रहेको उनले बताए । निगमले हप्तामा ३ दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका बनाएको छ ।
काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समयानुसार दिनको ११ बजेर ५५ मिनेटमा ओशाका पुग्नेछ । ओशाकाबाट स्थानीय समयानुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।
निगमले हाल १ महिनाका लागि एकतर्फी भाडादर ३६ हजार ९ सय ९९ र दुईतर्फी ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ । बाईडबडी ल्याएकोे करिब १४ महिनापछि जापानको ओशाकामा उडान गर्ने निश्चित भएको हो । निगमको जहाजले जापान उडान भरेपछि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २२ अर्ब रुपैयाँ तिर्नसक्ने अपेक्षा गरेको छ ।
सन् २०२० को भ्रमण वर्षलाई लक्षित गरी ओशाका उडान सुरु गर्न लागिएको निमगले जनाएको छ । एक वर्ष अवधिमा जहाजलाई पूर्णरूपमा सञ्चालन गरेर करिब ४५ हजार जापानी पर्यटक ल्याउने निगमको लक्ष्य छ । त्यस्तै पुस १६ गतेदेखि जापानको नारिटाका लागि पनि उडानको तयारी भइरहेको निगमले जनाएको छ । नेपाल एयर लाइन्सले १२ वर्षअघि ओशाका सिसीआर १२९ उडान गरेको थियो । सो समयमा २ लाख ३५ हजार यात्रुलार्ई सुविधा दिएको थियो । त्यस्तै निमग चीन, साउदी अरेवीय, भियतनाम, बंगलादेश र कोलोम्बियामासमेत उडानको तयारीमा रहेको छ ।



















