काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्नका लागि सबै दल एकजुट भएर लाग्न आहृवान गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सहमति र समझदारीको प्रक्रियालाई अगाडि बढाएर एउटै उद्देश्यका साथ एकजुट हुनपर्ने बताएका छन् ।
गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार गरी क्षतविक्षत गर्ने प्रयत्न हुन थालेको भन्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले पछिल्लो समय देशमा बढिरहेको हिंसात्मक गतिविधि रोक्न र शान्ति व्यवस्था सुदृढ बनाउन पनि दलहरू एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले संविधानप्रति अनास्था र अविश्वास फैलाउने काम भएको भन्दै चिन्ता प्रकट गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूबीच विश्वासको वातावरण बनाउन र राष्ट्रिय महŒवका विषयहरूमा साझा धारणा बनाउन सर्वदलीय बैठक आवश्यक रहेको बताए । उनले यस्तो बैठक पहिलेदेखि नै बोलाउन चाहेको पनि उनको भनाइ थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली र संविधानमाथि कसैले प्रहार गर्न खोजेमा चुप लागेर नबस्ने बताएका थिए ।
बैठकमा सहभागी कांग्रेस स्रोतका अनुसार सभापति देउवाले पछिल्लो समय सरकार विपक्षी दलहरूप्रति असहिष्णु बन्दै गएको, सरकारका काम कारबाहीकै कारण समस्या सिर्जना हुँदै गएको भन्दै सरकारलाई आफ्नो व्यवहार सच्याउन सुझाव दिएका थिए । उनले सरकारलाई संसद्प्रति उत्तरदायी हुन, लोकतान्त्रिक अभ्यासलाई जीवन्त राख्न गम्भीर भएर लाग्न सुझाव दिएको स्रोत बताउँछ । सरकारले ल्याएका केही विधेयक संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै त्यस्ता विधेयक फिर्ता लिएर सहकार्यको आधार सिर्जना गर्न देउवाले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।
बैठकमा सहभागी नेता मीनेन्द्र रिजालका अनुसार कांग्रेसले संविधानसँग नबाझिने गरी काम गर्न सरकारलाई सुझाव दिएको छ । आफूहरूले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक, सूचना प्रविधि विधेयक लगायतको कुरा उठाएको र संविधानसँग नबाझिने गरी विधेयकहरू अधि बढाउन सुझाव दिएको उनले बताए ।
मधेश केन्द्रित दलका नेताहरूले संविधान संशोधन लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य, समसामयिक विषय र शान्ति प्रक्रियाका विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री फेरि सिंगापुर जाने
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि भदौ ५ गते सिंगापुर जाने भएका छन् । मंगलबारको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिँदै ओलीले त्यहाँ आफू डेढ हप्तासम्म बस्ने सक्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा ओलीले आफू स्वस्थ्य रहेको र बाहिर हल्ला भएजस्तो केही अफ्ठ्यारो नभएको बताएको ती नेताले बताए ।
उनले औषधिको प्रभाव, फेरबदल लगायतका लागि फेरि आफू सिंगापुर जाने जानकारी गराए । सहभागी नेताहरूले प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गरेको कांग्रेस नेता रिजालले जानकारी दिए ।
यसअघि, प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए ।
संक्रमणकालीन न्यायको कुरा
बैठकमा सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोगको कुरा उठे पनि छफल भएन । कांग्रेस नेताहरूले संक्रमणकालीन न्याय शान्ति प्रक्रियाको एक अंग भएको भन्दै चाँडै टुंगो लगाउनु पर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । रिजालका अनुसार संक्रमणकालीन न्याय बैठकको एजेण्डा नभएको थप छलफल भएन ।
प्रधानमन्त्रीले सबैसँग छलफल गरेर सहमतिकै आधारा अघि बढ्न आफू गम्भीर रहेको बताएका थिए ।
माधव नेपाल अनुपस्थित
सर्वदलीय बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल भने अनुपस्थित रहे । पार्टी वरियतामा घटुवा गरेर झलनाथ खनाललाई अगाडि राखेलगत्तै सर्वदलीय बैठकमा नेता नेपालको अनुपस्थिति हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्रोतका अनुसार मंगलबार साँझ ५ बजेका लागि बोलाइएको बैठकमा नेता नेपाललाई एक घण्टा अगाडि मात्रै सूचना दिइएको थियो । नेकपाका तर्फबाट बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षमा प्रस्तावित वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, डा. मीनेन्द्र रिजाल सहभागी थिए । त्यस्तै, समाजवादी पार्टीका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका महन्थ ठाकुर, राजकिशोर यादवलगायत सहभागी थिए ।



















