भारतीय र पाकिस्तानी दूतावास अगाडि धर्ना

काठमाडौं । भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलाबारी र तनाव बढिरहेकोमा गहिरो चिन्ता व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावास अगाडि एकसाथ धर्ना दिएको छ ।

‘युद्ध निषेधः शान्ति विशेष’ अभियान सञ्चालन गर्दै आएको शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न, दुई देशबीच वार्ता अघि बढाउन र ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन आग्रह गरेको छ । समाजले दुवै मुलुकलाई शत्रुता अन्त्य गर्न र मित्रता गहिरो बनाउन आहृवान पनि गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास र महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि दिउँसो २ बजेदेखि एक घण्टासम्म भएको धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरू होमकान्त चौलागार्इंलगायत दर्जनौं अधिकारकर्मीहरूको सहभागिता थियो । सहभागीहरूले विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेका थिए ।

धर्नाको अन्त्यमा समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखिएको पत्र दूतावासका वरिष्ठ अधिकारीहरूलाई हस्तान्तरण गरिएको थियो । पत्रमा दक्षिण एशियाली राष्ट्रहरूमा नागरिकस्तरमा मित्रता प्रगाढ बनाउने, सद्भाव र भाइचारा बढाउने उद्देश्यले शान्ति समाजले केही वर्ष अगाडि दक्षिण एशियाली सद्भाव यात्राको प्रारूप अघि सारेको स्मरण गराइएको छ । अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र आपसी समझदारी अभिवृद्धि गर्ने उद्देश्यले थालिने नागरिक सद्भाव यात्रामा भारत र पाकिस्तान सरकारको नैतिक सहयोग र हार्दिकता प्राप्त हुनेछ भन्ने विश्वास पनि पत्रमा उल्लेख गरिएको छ ।