चितवन । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका तीनै जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले मंगलबार आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई दोस्रोपटक म्याद थप गर्दै हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएकाहरूको बयान नसकिएकाले उनीहरूलाई हिरासतमा राख्न म्याद थप गरेको बताइएको छ । मंगलबार मात्रै बयान सकेर समय थप गर्ने वा नगर्ने भन्ने विषयमा भएको बहसपछि पोष्टमार्टम, ल्याब रिपोर्ट र डोरीको विषयमा थप अनुसन्धान गर्ने भन्दै अदालतले पाँच दिनको समय थप गर्ने निर्णय गरेको हो ।
सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता यदुनाथ शर्माले थप अनुसन्धानका लागि १० दिनको समय माग गरेका थिए । लामिछाने र कँडेलको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता सुनीलकुमार पोखरेल, चूडामणि सापकोटा र अस्मिता कार्कीका तर्फबाट अधिवक्ता नारायण गिरीले बहस गरेका थिए । बहसका क्रममा उनीहरूले लामिछानेसहित अन्य आरोपितहरू निर्दोष रहेको भन्दै रिहाइको माग गरेका थिए ।
यसअघि गत शुक्रबार अदालतले कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्कीलाई पहिलोपटक पाँच दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमति दिएको थियो । उनीहरू तीनै जनालाई चितवन प्रहरीले गत बिहीबार काठमाडौं प्रहरी परिसरसँगको समन्वयमा काठमाडौंका फरक–फरक स्थानबाट नियन्त्रणमा लिएको थियो ।
टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, कँडेल र युवतीको नाम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडिएपछि प्रहरीले पक्राउ गरेको बताइएको छ । लामिछानेसहित तीन जनाको दुरुत्साहन आरोप प्रमाणित भए पाँच वर्ष जेल र ५० हजारसम्मको जरिवाना हुनेछ ।
साउन २२ गते चितवनको नारायणगढस्थित बसपार्कमा रहेको ‘कंगारु होटल’ मा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेलापरेका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भनिएको भिडियोमा लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको दाबी गरिएको छ । भिडियोमा पक्राउ परेका कँडेल र कार्कीको नाम पनि मुछिएको छ ।
पुडासैनी आत्महत्या प्रकरण संसद्मा पनि
प्रतिनिधिसभाको मंगलबारको बैठकमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको प्रसंग उठेको छ । सांसदहरूले अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित हुनसक्ने भन्दै सरकार सजग हुनुपर्नेमा जोड दिएका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले चितवनमा अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेका बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिँदैन,’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’
नेकपाकै अर्का सांसद हितबहादुर तामाङले चितवनमा गैरसंवैधानिक नारा लागिरहेको भन्दै सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । ‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्नमा आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस्,’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभई निष्पक्ष छानविन गर्नुपर्छ ।’




















