एभिसी सेन्ट्रल जोन भलिबलः नेपाल सोझो सेटमा पराजित

काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ । ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

समूह ‘बी’को खेलमा २ अंकसहित किर्गिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । नेपालले भने सेमिफाइनलका लागि बुधबार हुने माल्दिभ्सविरुद्ध जित हात पार्नेपर्ने स्थिति बनेको छ । किर्गिस्तानसँग नेपाल २५–२३, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित भएको हो ।

नेपाली प्रशिक्षक हान अबिङले भने किर्गिस्तर माथिल्लोस्तरको टोली भएकाले नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए ।

‘किर्गिस्तान राम्रो टिम हो । उसविरुद्ध नेपालको प्रदर्शनबाट सन्तुष्ट छु,’ नेदरल्याण्ड्सबाट झिकाइएका अनुभवी प्रशिक्षक अबिङले भने, ‘यो खेल यसअघि हामीले अफगानिस्तानसँग खेलेको जस्तो होइन । कर्गिस्तानको क्षमता र खेल्ने शैलीबाट हामीले सिक्नुपर्छ ।’

नेपालले प्रतियोगिताको तयारीका लागि अफगानिस्तानसँगै दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेलमा नेपालले उत्कृष्ट पुनरामगन जित हात पारेको थियो । प्रशिक्षक अबिङले भने किर्गिस्तान अफगानिस्तान र नेपालभन्दा निकै माथिल्लोस्तरको टोली भएकाले उसबाट अझै सिक्नुपर्ने बताए ।

सेन्ट्रल जोन भलिबल नेपालले आयोजना गरेको पाँचौ संस्करण हो । किर्गिस्तानले यसै प्रतियोगिताको तेस्रो संस्करणको उपाधि जितिसकेको छ । यस्तै, दोस्रो संस्करणमा किर्गिस्तान उपविजेतासमेत बनेको थियो । 

ब्लक र रिसिभमा पटकपटक चुक्दा नेपालले अंक गुमाएको थियो । तर, प्रशिक्षक अबिङले भने किर्गिस्तानका खेलाडीको उचाइले उनीहरूलाई त्यो फाइदा पुगेको बताए । ‘उनीहरूले उचाइको फाइदा उठाउँदै हाम्रा खेलाडीहरूभन्दा माथिबाट बल फाले,’ प्रशिक्षक अबिङले भने ।

पहिलो सेटमा सुरुदेखि नै पछि परेको नेपाल किर्गिस्तानलाई अघिपछि गर्दै अघि बढ्यो । २, ३, ६ र ८ अंकमा दुवै टोलीको बराबरी भएको थियो । एक समय नेपालले ९–८ को अग्रता लिएको थियो । त्यसको दुई अंकपछि नै पुनः किर्गिस्तानले नेपाललाई भेट्टायो । १७–१६ अंकमा लिएको अग्रतापछि भने किर्गिस्तानलाई नेपालले भेट्टाउन सकेन ।

दोस्रो सेटमा पहिलो अंक जोडेको नेपालले कुनैपनि बेला किर्गिस्तानलाई भेट्टाउन सकेन । नेपालले अंक १९–२० मा पु¥याउँदा दर्शकहरू उत्साहित बनेका थिए । दर्शकहरूको हुटिङ सकिन नपाउँदै नेपालले सर्भिस बिगार्दा अघि बढेको किर्गिस्तानले सेट २२–२५ ले जित्यो । 

तेस्रो सेटमा सुरुवातदेखि पछिपरेको नेपालले एक समय ५–५ को बराबरी गरे पनि त्यसपछि भने कुनैबेला भेट्टाउन सकेन । नेपाल १७–२२ को स्थितिमा प्रशिक्षक हान अबिङले एकैपटक ३ खेलाडी परिवर्तन गरेका थिए । तर, त्यसले खेलमा केही फरक परेन ।

किर्गिस्तानका प्रशिक्षक अन्कुडिनोभ अन्द्रईले नेपालले ठूलो च्याम्पियनसिप आयोजना गरेकोमा बधाई दिए । दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेको उनले बताए ।

मध्यएसियाका देशहरूले सहभागिता जनाउने एभिसी सेन्ट्रल जोन भलिबल नेपालले आयोजना गरेको हालसम्मकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता हो ।

नेपालले अब बुधबार माल्दिभ्सको सामना गर्नेछ । समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र किर्गिस्तान छन् । यस्तै, समूह ‘बी’ मा साबिकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन् । प्रतियोगिता भदौ ७ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालले तीनवर्ष अघि माल्दिभ्समा भएको यही च्याम्पियनसिपमा कांस्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एक मात्र पदक हो ।

तुर्किमेनिस्तानको विजयी सुरुवात

यस्तै, प्रतियोगितामा सोमबार बिहान भएको खेलमा विजेता तुर्किमेनिस्तानले विजयी सुरुवात गरेको छ । अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तुर्किमेनिस्तानले विजयी सुरुवात गरेको हो । दोस्रो सेट गुमाएको तुर्किमेनिस्तानले पहिलो, तेस्रो र चौथो सेटमा जित हात पार्दै विजयी सुरुवात ग¥यो । 

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ३२–३० ले आफ्नो पक्षमा पारेको तुर्किमेनिस्तानले दोस्रो भने अफगानिस्तानसामु २५–१६ ले गुमाएको थियो । त्यसपछि पुनरागमन गर्दै उसले तेस्रो सेट २७–२५ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पा¥यो । 

तुर्किमेनिस्तानले अब मंगलबार साँझ ५ बजे उज्वेकिस्तानको सामना गर्नेछ । यस्तै, अफगानिस्तानले पनि सोही दिन दिउँसो ३ बजे बंगलादेशको सामना गर्नेछ ।