काठमाडौं । एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताअन्तर्गत नेपालले सोमबार पहिलो खेलमा किर्गिस्तानको सामना गर्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र किर्गिस्तानले दिउँसो ४ बजे लगनखेलस्थित आर्मीको कभर्ड हलमा भिड्ने छन् ।
त्यसअघि बिहान १० बजे समूह ‘बी’का टोलीहरू तुर्किमेनिस्तान र अफगानिस्तान भिड्दैछन् । उक्त खेलपछि औपचारिक उद्घाटन हुने र त्यसपछि नेपालको खेल हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ । नेपाली भलिबल इतिहासमा नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो ।
किर्गिस्तानले यसअघि प्रतियोगिताको उपाधिसमेत जितिसकेको छ । किर्गिस्तानका खेलाडीहरूको उचाइले पनि उनीहरू नेपालका लागि चुनौती हुने नेपाली कप्तान इम रानामगरले बताउँछन् । ‘किर्गिस्तानलाई उसका उचो कदका खेलाडीहरूको फाइदा छ,’ इमले भने, ‘तर, हामी घरेलु कोर्ट र दर्शकहरूको साथमा उनीहरूलाई बलियो चुनौती दिनेछौं ।’
पछिल्ला ५ खेलमा नेपाल किर्गिस्तानसँग ४ खेलमा पराजित भएको छ । गतवर्ष इण्डोनेसियाको जाकर्तामा भएको एसियाडमा १५औं वरीयताका लागि हुने खेलमा किर्गिस्तान अनुपस्थित रहेपछि आयोजकले नेपाललाई ३–० ले विजेता घोषणा गरेको थियो । किर्गिस्तानलाई नेपालले हराएको त्यही खेलमात्रै हो । सेन्ट्रल जोनमा भएका सबै चार भेटमा नेपाल पराजित भएको छ ।
आइतबार अन्तिम टोलीका रूपमा उज्वेनकिस्तान पनि नेपाल आइसकेपछि प्रतियोगितामा सहभागिता जनाउँने सम्पूर्ण टोली नेपाल आइपुगेका छन् । प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
खेल तालिका अनुसार समूह ‘ए’ मा माल्दिभ्स, किर्गिस्तान र नेपाल छन् । यस्तै यस्तै समूह ‘बी’ मा साविकको विजेता तुर्कमेनिस्तान, बंगलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् । भदौ ७ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भैसकेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द बताउँछन् ।
यही च्याम्पियनसिपमा तीन वर्षअघि माल्दिभ्समा भएको कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एकमात्र पदक हो । नेपालले नेदरल्याण्डका प्रशिक्षक हान एबिङलाई असार पहिलो साता नेपाल झिकाएर आफ्नो तयारी सुरु गरिसकेको छ ।
एबिङले यसअघि नै इमबहादुर रानाको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेका छन् । टोलीमा इमसँगै हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापामगर छन् ।




















