झा हत्या प्रकरणमा सुरक्षा गार्ड फेरि पक्राउ

काठमाडौं । पूर्वराजदूत केशव झाको हत्या प्रकरणमा सुरक्षागार्ड तथा भान्छे सानुकान्छा तामाङलाई प्रहरीले फेरि पक्राउ गरेको छ । एक वर्षअघि हत्या गरिएका पूर्वराजदूत झाकी पत्नीले दिएको जाहेरीका आधारमा तामाङलाई फेरि पक्राउ गरिएको प्रहरीले जनाएको छ । झाको २०७५ भदौ ४ गते काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा चक्कु प्रहारबाट हत्या भएको थियो । 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले तामाङलाई काभ्रेबाट पक्राउ गरेको हो । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा तामाङसहित माली काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरेको थियो । प्रमाण फेला नपारेपछि धरौटीमा रिहा भएका थिए ।  

महानगरीय अपराध महाशाखाले सानुकान्छा तामाङ, आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई घटनास्थलबाट पक्राउ गरी २४ दिन प्रहरी हिरासतमा राखेर अनुसनधान गरेको थियो । पक्राउ परेका सानुकान्छालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । तामाङ झण्डै एक दशकदेखि झाको घरमा काम गर्दै आएका थिए ।