काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा वरियताक्रम परिवर्तन भएको छ । नेकपाको सचिवालय बैठकले वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालको वरियताक्रम परिवर्तन गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार वरिष्ठ नेता झलनाथ खनालले अर्का नेता माधवकुमार नेपालभन्दा एक तह अघिको वरियता पाएका छन् । प्रधानमन्त्री निवासमा बसेको बैठकले खनाललाई नेपालभन्दा अगाडिको वरियतामा बढुवा गर्ने निर्णय गरेको हो । यससँगै नेपालको ‘वरिष्ठ’ खोसिएको छ । अब खनाल ‘वरिष्ठ’ भएका छन् ।
प्रवक्ता श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछिको नेताका रूपमा खनाललाई राख्ने निर्णय भएको बताए । पार्टी एकीकरणपछि नेपाल अध्यक्षपछिको वरियतामा वरिष्ठ नेता हुने निर्णय गरिएपछि खनालले चर्को असन्तुष्टि राख्दै आएका थिए ।
आफ्नो वरियता खोसिएपछि नेता नेपालले असन्तुष्टि व्यक्त गरेका छन् । नेपालले निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको सचिवालय स्रोतले बताएको छ ।
स्रोतका अनुसार नेपालले तीन नेतालाई सचिवालयमा लैजान प्रस्ताव गरेका थिए । नेपालले नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा लैजान प्रस्ताव गरेकोमा बैठकले उनको सो प्रस्ताव अस्वीकृत गरेको थियो । २०७५ जेठ ३ गते तत्कालीन दुई पार्टी एमाले र माओवादी (केन्द्र) बीच पार्टी एकीकरण घोषणा गर्दा अध्यक्षद्वय ओली र प्रचण्डको जोडबलमा नेता नेपाललाई तेस्रो बरियतामा ल्याइएको थियो । त्यतिबेला नेता खनाल चीन भ्रमणमा थिए ।
तत्कालीन एमालेमा अध्यक्ष ओलीपछि दोस्रो बरियतामा नेता खनाल थिए । तर, एकीकृत पार्टी बनेपछि उनी नेपालभन्दा तल्लो बरियतामा पुगे । अध्यक्षद्वय ओली–प्रचण्डपछिको तेस्रोे बरियतामा नेता नेपाललाई ल्याइएको थियो ।
पाँचांै बरियतामा रहेका नेता बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसँगै नेकपामा वरियताको विषय उठेको हो । यसअघि खनालले सार्वजनिक रूपमै पार्टी एकतापछिको वरियतामा आफ्नो फरक मत राख्दै आएका थिए ।
जनवर्गीय इन्चार्ज तोकिए
आइतबारको सचिवालय बैठकले पार्टीको जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । नेकपाको आइतबार बैकठले उपत्यका विशेष कमिटी इन्चार्ज लीलामणि पोखरेल, सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपानेलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै युवा तथा विद्यार्थी विशेष कमिटीमा इन्चार्ज माधव ढुंगेल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल तोकिएका छन् । मजदुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेल तोकिएका छन् । पेशागतमा इन्चार्ज केशव नेपाल, सहइन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली छन् ।
उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सहइन्चार्ज शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् । केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सहइन्चार्ज डिलाराम आचार्य, झक्कु सुवेदी छन् ।
यसैगरी जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सहइन्चार्ज विनोद श्रेष्ठ, किसान संगठनको इन्चार्ज बामदेव गौतम र सहइन्चार्ज सुनिल मानन्धरलाई जिम्मेवारी दिइएको छ । महिला संगठनको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोक्का तथा युवा इन्चार्ज महेश बस्नेत र सहइन्चार्ज रामप्रसाद सापकोटा दीपशिखालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी विद्यार्थीम संगठनको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, वुद्धिजीवीको इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की छन् । पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ ।



















