काठमाडौं । नेपाल मिडिया सोसाइटीले गत न्यूज २४ टेलिभिजनको कार्यालयमा ठूलो संख्यामा प्रहरीहरू प्रवेश गरेर पत्रकारहरू पक्राउ गरेको भन्दै घटनाको निन्दा गरेको छ । ञ्चारगृहका अधिकारीलाई पूर्वसूचना नदिई र अनुमति नलिई अचानक कार्यकक्षमा प्रवेश गरी पत्रकारहरू पक्राउ गरेको जानकारी प्राप्त भएको सोसाइटीले जनाएको छ । प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड मिचेर अवैधानिक तरिकाले पक्राउ गरेको भन्दै सोसाइटी खेद व्यक्त गरेको छ ।
सोसाइटीका महासचिव मदन लम्सालले हस्ताक्षर भरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले सूचनाको निर्वाध सम्प्रेषण गर्न पाउने सञ्चारमाध्यमको नैसर्गिक अधिकार असुरक्षित र हनन् भएको पनि हामीले ठानेका छौँ ।’
विज्ञप्तिमा प्रहरीको कार्यक्षेत्रभित्र पर्ने घटनाका सम्बन्धमा उसले कानुनीरूपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानविन गर्न पाउने भन्दै प्रहरीले विधिको शासनलाई यस संस्थाले पनि सधैँ सम्मान गरेको र गर्दै जाने विश्वास प्रकट गरिएको छ ।
सोसाइटीले पूर्वजानकारी र अनुमति विना मिडिया संस्था र पत्रकारिताको सामान्य संवेदनशीलता ख्याल नगरी कार्यकक्षमा प्रहरी प्रवेश गर्नुलाई दुःखद् र अमर्यादित भनेको छ । यस्तो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र संविधानविरीत पनि हुने सोसाइटीको ठहर छ । सोसाइटीले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र सञ्चारमाध्यममाथि हुने हस्तक्षेप नदोहो¥याउन सचेत गराएको छ । गत बिहीबार प्रहरीले न्यून २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको थियो ।



















