काठमाडौं । सर्वोच्च अदालतले निर्माता छविराज ओझाकी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ गरी कारबाही अगाडि बढाउन दिएको आदेशविरुद्ध शिल्पा उच्च अदालत पुगेकी थिइन् । तर, उच्च अदालतले जिल्ला अदालतको आदेशलाई सदर गरेपछि उनी सर्वोच्च पुगेकी हुन् ।
आइतबार प्रधानन्यायधीश चोलेन्द्र शमशेरको इजलासले उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । निर्माता ओझाकी जेठी श्रीमती हेमा ओझाले साउन पहिलो हप्ता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् । दुईलाई तत्काल पक्राउ गरी कारबाही गर्न उनको माग थियो ।
हेमाले बहुविवाहको उजुरी हालेपछि काठमाडौं जिल्ला अदालतले शिल्पा र छविलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि फरार भएकी अभिनेत्री पोखरेलले आफूलाई पक्राउ नगर्न माग गर्दै ‘निषेधाज्ञा आदेश पाऊँ’ भन्दै साउन १६ गते अभिवक्ता रमेश गुराँगाईमार्फत उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन् । तर, उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर ग¥यो ।




















