काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा राष्ट्र प्रमुखको रूपमा राष्ट्रपतिको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेको बताउँदै अब राजसंस्थालाई नै उक्त भूमिकामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले गणतन्त्र नेपालको पहिलो र वर्तमान गरी दुवै राष्ट्रपतिले राष्ट्र प्रमुखको भूमिका निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाह गर्न नसकेको टिप्पणी गरे । ‘नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भइसक्यो,’ उनले भने, ‘राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन ।’
अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि राष्ट्रपति कार्यालयले लिने काम गरेकोमा आपत्ति जनाए । उनले भने, ‘राष्ट्रपतिले आफ्नो शोख पूरा गर्नका लागि अहिले पुलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो ।’
उनले निष्पक्ष र कुनै पनि पार्टीमा आबद्ध नभएको राजसंस्थाजस्तो पुरानो संस्थाले मात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्नसक्ने बताए । उनले भने, ‘हामीले त राजसंस्था सहितको प्रजातन्त्र भनेका छौं । यसमा बहस पैरवी हुनुपर्छ ।’
उनले ८१ प्रतिशत हिन्दूहरू भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाएको भन्दै आक्रोश पोखे । उनले भने, ‘अब यो देशलाई हिन्दू राष्ट्र बनाउन अत्यावश्यक छ । हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रूपमा उठाएका थियौं ।’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीबारे सोधिएको प्रश्नमा उनले भने, ‘प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो । कसैले पनि बोल्नलाई रोक्न सक्दैन । तर, धम्की नै दिएर यो गर, ऊ नगर भनेर भन्नु चाहिँ हुँदैन ।’
उनले पछिल्लो समय पूर्वराजा सामान्य नागरिकसरह रहेको बताउँदै कुनै प्रकारको स्वार्थमा नदेखिएको प्रस्ट पारे । ‘उहाँले म फर्किन्छु भनेर हिँडेको छैन । उहाँले भाषण गरेको छैन,’ उनले भने, ‘उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भिड लाग्छ, त्यो कुन ठूलो अपराध हो ?’
बरु सरकारले नै ठूलो मौका पाएर पनि काम गर्न नसकेको आरोप उनले लगाए । उनले भने, ‘यो सरकारले जनताको आशालाई पूरै निराशामा परिणत गरेको छ । सरकार अत्यन्तै भ्रष्ट भयो ।’ सरकार गठन भएको १८ महिना बितिसक्दा पनि परिणाम भने शून्य आएको उनले बताए ।



















