काठमाडौं । अहिले नेपाली गीतसंगीतको क्षेत्रमा कपिराइटका कुरा उठिरहेका छन् । एकजनाको गीत अर्को स्रष्टाको गीतसँग मिल्यो भन्ने र कपिराइटको उजुरी हाल्ने लहर नै चलेजस्तो भएको छ । केही समयअघिमात्रै निकै चर्चित लोकगीत गलबन्दीको कपिराइटको विषय पनि निकै चर्कियो । यस्तै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को एकगीतको विषयले राम्रो चर्चा पायो ।
पछिल्लो एक वर्षयता कपिराइटका मुद्दालाई सृष्टाहरूले गम्भीरतापूर्वक उठाउन थालेका छन् । पुराना गीतसँग अहिलेका स्रष्टाहरूका गीतसँग मिल्यो भन्दै गर्दा कति प्रतिशत प्रभावित हो त्यो र कतिसम्म छाड्ने भन्ने बहस हालसम्म स्रष्टाहरूमा चलिरहेको छ । यद्यपि यसको ठोस नियम कानुन भने बनिसकेको छैन ।
यसैबीच पछिल्लो केही दिनयता गायक तथा संगीतकार चेतन सापकोटा र सर्लाहीका अर्जुन दाहालको विषय चर्किएको थियो । शुक्रबारबाट यो विषय साम्य भएको छ । विषयमा प्रवेश गरौं, सामाजिक सञ्जाल फेसबुकमा हरिवन नगरपालिका ९, सर्लाहीका ४८ वर्षीय अर्जुन दाहालले ‘मेरो देशमा फेरि एउटा बुद्ध पठाइदेऊ’ भन्दै टेबल ठटाउँदै गाएको गीत भाइरल बन्यो । उक्त भिडियोले मिलियन बढी भ्युज पायो । अर्जुनको स्वरको प्रशंसा भयो । भिडियो हेर्ने अधिकांश दर्शकले उनलाई गीत रेकर्ड गराउन सल्लाह पनि दिए । सामान्य परिवारका अर्जुन स्थानीय क्षेत्रमा भजन कीर्तन गाउँदै हिँड्छन् । तर उनलाई रेडियो नेपालले स्वर परीक्षण पासको प्रमाणपत्र पनि दिइसकेको रहेछ ।
उर्लाबारी नगरपालिका ६, मोरङका ‘युवा मन नेपाल’ नामक युट्युव सञ्चालन गर्दै आएका किशोर श्रेष्ठले अर्जुनले गाएको उक्त गीत भाइरल बनेको देखेपछि गीत रेकर्ड गराइदिने भन्दै झापा बोलाए । आफ्नै गाडी भाडा हालेर झापा पुगेका अर्जुनले किशोरका अगाडि ‘मेरो देशमा फेरि एउटा बुद्ध पठाइदेऊ’ भन्दै गाएको गीत आफैंले लेखेको र शब्द, संगीत पनि आफ्नो भन्दै दाबी गरे ।
गरिब परिवारका अर्जुनको प्रतिभा देखेरै किशोरले आफ्नो खर्चमा उक्त गीत रेडर्क गराइदिने बताए । अजुर्न पनि दंग थिए, विगत ९ वर्षदेखि सडक सडकमा गाउँदै हिँडेको गीत अब रेकर्ड हुने भयो भनेर । केही दिनपछि गीत रेकर्ड भयो, किशोरले रेकर्डिङ रिपोर्ट बनाएर आफ्नो युट्युवमा हाले । जब एकै दिनमा लाख बढी दर्शकले उक्त रिपोर्ट हेरे, काठमाडौंबाट गायक तथा संगीतकार चेतन सापकोटाले देखे ।
चेतनलाई पनि अन्य साथीभाइले त्यो रिपोर्टको लिंक पठाइदिए । चेतन दंग भए । आफूले ०६५ सालमा रेकर्ड गराएको गीत आफ्नो भन्दै कोही व्यक्तिले आफंैलाई थाहै नदिई धन आर्जन गर्ने उद्देश्यले धमाधम रेकर्ड गराएको देखेपछि युट्युव च्यानल सञ्चालक किशोरलाई तुरुन्तै सम्पर्क गरे र कारबाही गर्ने चेतावनी दिए । त्यसपछि किशोर झन् अचम्मित भए । अधवैशे प्रतिभावान व्यक्तिको राम्रो स्वर देखेर सहयोग गरौं र सँगै केही आर्जन पनि होला भनेर हतपत रेकर्ड गराउँदा फसे ।
गायक चेतनले उक्त गीतको भिडियो पनि बनाइँदै छ भन्ने थाहा पाएपछि उनीहरू दुवैजना (किशोर र अर्जुन) लाई तुरुन्तै काठमाडौं बोलाए । लगातारको झरीका कारण तुरुन्तै आउन नसकेपछि उनीहरू लगभग तीन हप्तापछि काठमाडौं आए ।
गायक चेतनले प्रहरी प्रभाग टेकुमा कपिराइटको उजुरी दर्ता गर्ने भन्दै संगीतकार संघका केही पदाधिकारी, किशोर र अर्जुनलाई लिएर पुगे । प्रहरीले दुवैजनालाई सकेसम्म मिल्न सल्लाह दियो । युट्युव च्यानल सञ्चालक किशोरले आफूले अञ्जानमा अर्जुनको विश्वासमा गीत रेकर्ड गराएको र उक्त भिडियो युट्युवबाट हटाइदिने भन्दै माफी मागे । तर अर्जुनले भने गायक चेतनलाई यसभन्दा अघि नचिनेको र गाउँदै गर्दा केही शब्द परिवर्तन गरी गाउँदै हिँडेको बताए । उनले पनि माफी मागे ।
यता गायक चेतनले भने माझी मागेरमात्र नहुने र यो प्रवृति नै अन्त्य गर्नुपर्छ भनेर कानुनी कारबाहीमै जाने भन्दै अडान छाडेनन् । संगीतकार संघ नेपालमा बिहीबार बसेको लामो बैठकमा संघका संरक्षक लक्ष्मण शेष बिडारी, अध्यक्ष शान्तिराम राई, सचिव वसन्त सापकोटालगायतले चेतनसँग एकपटकलाई छाडिदिन र सानो कारबाही गर्न आग्रह गरे । अन्ततः चेतनले फेरि यस्तो गल्ती नदोहोरियोस् भन्दै गीत रेकर्ड गराउन युट्युव च्यानल सञ्चालक किशोरलाई सजायस्वरूप ५० हजार रुपैयाँ संगीतकार संघको कलाकार कल्याणकारी कोषमा जम्मा गर्न लगाए ।
जुन रकमले उनलाई अर्कोपटक गल्ती गर्न झस्काउने चेतन बताउँछन् । चेतनले पछि अन्य केही कलाकार साथीहरूको आग्रहमा मात्र २० हजार जरिवानास्वरूप तिर्न लगाउने निर्णय गरेको बताए । ‘मैले जति पनि माग्न सक्थेँ, एक स्रष्टाको सिर्जना प्रयोग गरेर पैसा कमाउने अधिकार कसैलाई हुँदैन तर उहाँहरूको अवस्था देखेरे सानो रकम भनेको हुँ त्यो पनि मेरा लागि होइन । कलाकार कल्याणकारी कोषका लागि हो । जसबाट दुःखमा परेका कलाकारहरूकै हकहित हुनेगर्छ’, चेतन भन्छन्, ‘लाखौंमा पर्नुहुन्थ्यो, यस्तो गल्ती अरू कसैले पनि नगरुन् भनेर उहाँहरूलाई पात्रमात्र बनाइएको हो । उहाँहरूलाई दुःख दिने मेरो पनि मनशाय होइन ।’
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा किशोर र अर्जुनले माफी मागे र चेतनले उनीहरूलाई मात्र नभई कसैलाई अबदेखि यस्तो गलत काम नगर्न चेतावनी दिए । साथै उनले आफ्ना अन्य गीत नेपालका चर्चित स्रष्टाहरूले पनि कपि गरेको थाहा पाएको र छिट्टै कानुनी घेरामा ल्याउने चेतावनी दिएका छन् ।




















