‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

ललितपुर  । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ताअघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । 

नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न नसकेकाले जापानस्थित क्युटेक विश्वविद्यालयका नेपाली विद्यार्थी हरिराम श्रेष्ठले नाष्टका वैज्ञानिकलाई जानकारी गराएका हुन् । पहिलो पटक नेपाली स्याट–१ ले खिचेका सो तस्वीर केही धमिलो कैद भएका नाष्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘आकाशमा बादल लागेको र बढी घाम लागेका बेला भूउपग्रहले धमिलो तस्वीर कैद गर्ने गर्छ,’ उनले भने, ‘नेपालमा ग्राउण्ड स्टेशन निर्माण नभइसकेकाले जापानको क्युटेक विश्वविद्यालयले सो कुराको जानकारी हामीलाई गराएको हो ।’ नेपाली स्याट–१ ले सूर्य र पृथ्वीका तस्वीरका अलवा चीन र भारत सिमानाका तस्वीर पनि कैद गरिसकेको बताइएको छ । 

अनुभवी दक्ष जनशक्तिको अभाव, प्रशासनिक विधि र सार्वजनिक खरिद ऐनमा समय खर्च गर्नुपरेकाले नाष्टमा समयमै ग्राउण्ड स्टेशन निर्माण गर्न नसकिएको ढकालले जानकारी दिए । नेपालमा ग्राउण्ड स्टेशन निर्माणमा ढिलाइ भएसँगै देशले आफ्नो भूउपग्रहबाट समयमै आवश्यक सूचना प्राप्त गर्न सकेको छैन । नेपालमै नेपाली स्याट–१ बाट सूचना प्राप्त गर्न नाष्टले आउँदो शुक्रबारसम्ममा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न गर्ने जानकारी गराएको छ ।  

नाष्टमा ग्राउण्ड स्टेशन निर्माणका लागि सात देशबाट सामग्री संकलन गर्नुपरेको ढकालले बताए । उनले भने, ‘नाष्टको कार्यालयभित्र एन्टेना जडान गरिसकेपछि त्यसमा प्राविधिक समस्या भएन भने अबको एक हप्तामा सो भूउपग्रहबाट सूचना लिन सक्नेछौँ ।’ नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि अनुमतिपत्र लिनुपरेकाले त्यसमा केही दिन समय खर्च गर्नुपरेको हो । नेपाली स्याट–१ सँग निरन्तर दुईदेखि तीन वर्ष तस्वीर संकलन गर्न सक्ने क्षमता छ । नाष्टले जापानको बर्डस परियोजनालाई भविष्यमा निरन्तरता दिन लागिपर्ने जानकारी गराएको छ । 

नेपाली स्याट–१ प्रशान्त महासागरमा 

नेपालले निर्माण गरेको नेपाली स्याट–१ एशिया काटेर अमेरिकाको प्रशान्त महासागरमा आइपुगेको नाष्टका सहायक अनुसन्धानकर्ता दिबोध लामिछानेले जानकारी दिए । ‘सो भूउपग्रह आज तीन पटक नेपाली आकाशमा आउने छ,’ उनले भने, ‘दिउँसो १२ः५२ मा आएर १२ः५७ सम्म बस्यो, त्यसैगरी साँझ ७ः२५ मा आएर ७ः३० सम्म बसी पुनः राति ९ः०२ मा आएर ९ः०७ सम्म बस्ने भएको छ ।’ सो भूउपग्रहले पृथ्वीको परिक्रमा ९० मिनेटमा एक पटक गर्नेछ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने बताइएको छ । हाल यो भूउपग्रह पृथ्वीबाट ४ सय किलोमिटर माथि आकाशमा रहेको नाष्टका वैज्ञानिकको भनाइ छ । सो भूउपग्रहमा पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । नेपालसँगै वैशाख ४ गते श्रीलंकाले ‘रावण–१’ र जापानले ‘युवुसु’ नामक भूउपग्रह प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।