अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई मंगलबार नियन्त्रणमा लिइएको हो । श्रम स्वीकृति नै नलिई वैदेशिक रोजगारीमा जाने नेपालीलाई प्रस्थान अनुमति दिएको विषयमा अनुसन्धान गर्न पराजुलीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । नेपालले श्रम स्वीकृति नै जारी नगरेको मुलुकका लागि नेपालीहरू संयुक्त अरब इमिरेट्सको दुबई तथा कतार ट्रान्जिट बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै जाने गरेको उजुरी अख्तियारमा परेको थियो । भिजिट भिसामा गएकाहरूलाई मिलेमतोमा प्रस्थान अनुमति दिने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पराजुलीविरुद्ध त्यसरी प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराख्ने जस्ता गैरकानुनी क्रियाकलाप गरी आर्थिक लाभ लिएको उजुरी आयोगमा दर्ता भएको जनाइएको छ ।