नयाँ तलबमानप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं । सरकारले सार्वजनिक गरेको नयाँ तलबमान सम्मानजनक नभएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । चालू आर्थिक वर्षबाट लागू हुनेगरी सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको थियो । सरकारले तोकेको नयाँ तलबमान सम्मानजनक नभएको भन्दै संघले आपत्ति जनाएको हो । 

संघले ‘प्लस टु’ अध्ययनपश्चात् पाँच वर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरूको तलबमान र एसएलसी अध्ययनपश्चात् सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरेकामा गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । 

बुधबार संघले विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र संघबीच भएको सम्झौताविपरीत अहिले अवैज्ञानिक र असमानजनक तलब विनियोजन गरिएको आरोप लगाएको छ ।

‘नेपाल सरकारको सेवामा प्रवेश गर्दा एमबिबिएस अध्ययन गरेका चिकित्सकहरूको सुरु नियुक्ति नै आठौं तहबाट भइरहेको अवस्थामा एसएलसी अध्ययनपश्चात् नेपाल सरकारको प्राथमिक तृतीय श्रेणीको तलबमानले चिकित्सकहरूलाई आकर्षित गर्न नसक्ने नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान तलबका सम्बन्धमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरोकारवाला निकायले गम्भीर रूपमा मनन गरी अविलम्ब उक्त तलबमान सच्याउन जोडदार माग गर्दछौँ ।’

सरकारले निर्धारण गरेको उक्त तलबमानपछि नयाँ आउने चिकित्सकहरूलाई सरकार मातहतका सरकारी सेवामा आकर्षित गर्न नसक्नेतर्फ पनि संघले ध्यानाकर्षण गराएको छ । संघले सरकारी सेवामा समर्पित रहेको चिकित्सकहरूको मनोबल गिर्ने गम्भीर परिस्थिति निर्माण गरेको भन्दै यो विषयमा गम्भीर हुन अपिल गरेको छ । 

नयाँ तलबमानमा प्रावि तह अध्यापन गराउने प्रथम तहको शिक्षकको र एमबिबिएस डाक्टरको तलबमान बराबर छ । एसएलसी उत्तीर्ण प्रथम श्रेणीको शिक्षकको एमबिबिएस (आठौं तह) डाक्टरको तलब स्केल ४० हजार ३८० रुपैयाँ छ । नयाँ बढेकोसँगै अब डाक्टरहरूले मासिक ४५ हजार ७६४ रुपैयाँ पाउनेछन् ।

त्यस्तै, एसएलसी उत्तीर्ण प्रथम श्रेणीको शिक्षकको तलब स्केल ३५ हजार ९९० रुपैयाँ छ । तलब बढेसँगै मासिक ४५ हजार ५९० रुपैयाँ पाउनेछन् । सुरुको तलबमान ४० हजार ३९० रुपैयाँ भएका माध्यमिक द्वितीय श्रेणीका शिक्षकले तलब बढेसँगै ५१ हजार १४८ रुपैयाँ पाउनेछन् ।