क्वालालम्पुर := महिला एसिसी यु-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग नौ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो। मलेसियाको वायुमास ओभलमा वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।
नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले मात्र एक विकेट गुमाएर ९.५ ओभरमा पूरा गरेको हो । बंगलादेश का लागि फाहोमिदा चोयाले अविजित २६ रन बनाउनुभयो । त्यस्तै मोसाम्मत इभाले १८ रन बनाउँदा सुमैया अख्त सुबोर्णले १० रन बनाउनुभयो । नेपालका लागि कुसुम गोदारले एक विकेट लिनुभएको थियो ।
तीन ब्याटरहरू दुर्भाग्यपूर्ण रूपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन । नेपालका दुवै ओपनर साना प्रवीन र सावित्री धामी रनआउट हुनुभएको थियो । सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा नौ रनमात्रै जोड्न सक्नुभयो ।
नेपाल निर्धारित ११ ओभरमा आठ विकेट गुमाएर ५४ रन बनाएको थियो। बंगलादेशले एक विकेट क्षतिमा ९.५ ओभरमा लक्ष्य भेटेको थियो । नेपाललाई हराएसँगै सुपर फोरबाट ६ अंकसहित बंगलादेश फाइनलमा पुगिसकेको छ ।
त्यस्तै सात अंकसहित भारत पनि फाइनलमा पुगिसकेको छ । समूह चरणको खेलमा नेपालले पाकिस्तानमाथि ऐतिहासिक जित हात पार्दै सुपर-४ मा स्थान बनाउन सफल भएको थियो ।