कलिलै उमेरमा फुटबल मोह

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय सुमन श्रेष्ठ बिहान ५ बजे माटिकोरे खेलमैदान पुग्छन् । दुई घण्टा फुटबल खेलसम्बन्धी अभ्यास गर्छन् । उनी ७ बजेसम्म खेल अभ्यास गरेर कोठा फर्कन्छन् र गृहकार्य सकेर १० बजे विद्यालय जान्छन् । 

अंग्रेजी माध्यमको शिक्षा अध्ययन गर्न गाउँबाट दिक्तेलबजारमा आएका श्रेष्ठको लक्ष्य छ कुशल एवं व्यावसायिक फुटबल खेलाडी बन्ने । श्रेष्ठ दिक्तेल बोर्डिङ स्कुलको कक्षा ८ का विद्यार्थी हुन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १२ वर्षीय सिजन बस्नेतले पनि भविष्यमा आफू फुटबल खेलाडी बन्ने बताए । आफन्तको साथमा दिक्तेलबजारमा बस्दै आएका योगेश बिहानै उक्त खेलमैदान पुग्छन् र साथीसँगै फूटबल खेलसम्बन्धी अभ्यास गरेर कोठा फर्कन्छन् ।

बस्नेत माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलको कक्षा–५ का विद्यार्थी हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानमा पाथेकाका १२ वर्षीय ढाकशेर राई, नेर्पाका १३ वर्षीय बुद्ध खत्री, दिक्तेलका १३ वर्षीय अभिषेक मगरलगायत ४१ जना बालक बिहान ५ बजे नै उक्त खेलमैदान पुगेका हुन्छन् ।

फुटबल खेल अभ्यासमा सहभागी उनीहरू सबैको उमेर १४ वर्ष नाघेको छैन । वर्ष दिनदेखि निरन्तर अभ्यास गरिरहेका उनीहरू सबैको लक्ष्य छ भविष्यमा कुशल र व्यावसायिक फुटबल खेलाडी बन्ने । उनीहरूलाई खोटाङ फुटबल एकेडेमीका स्वयंसेवक प्रशिक्षक तथा खेलाडीले निःशुल्क अभ्यास गराइरहेका छन् ।

जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यावसायिक बनाउने उद्देश्यले ९ देखि १४ वर्ष उमेर समुहका बालबालिकालाई तालिम दिने व्यवस्था मिलाइएको एकेडेमीका अध्यक्ष नुरकाजी सैँजुले बताए । ‘बिना तालिम फुटबल खेलाडी उत्पादन हुँदैन’, उनले भने, ‘आगामी दश वर्षभित्र जिल्लामा राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यसाथ निःशुल्क तालिमको व्यवस्था गरिएको हो ।’

एकेडेमीले तयार गरेका खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालिमका लागि राजधानी काठमाडौं पठाउने गरिएको छ । गत वर्ष सातजना खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालिमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले व्यहोर्ने गरी काठमाडौंको नयाँबानेश्वरस्थि प्रिमियर कलेजले लगेको थियो । विगत तीन वर्षदेखि निरन्तर तालिम गराउँदै आएको एकेडेमीले गत वर्ष नै एन्फामा सात खेलाडी पठाएको प्रशिक्षक रोशेष श्रेष्ठले बताए ।

एकेडेमीले विद्यालयस्तरका बालबालिकाकालाई लक्षित गरेर तालिम सञ्चालन गर्दै आएको माटिकोरे खेलमैदान स्तरोन्नति गर्नुपर्ने अवस्थामा पुगेको छ । हाल सरस्वती मावि दिक्तेलको मातहतमा रहेको उक्त खेलमैदानको समग्र विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सुरु गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।

जिल्लामा लामो समयदेखि फूटबल खेल सञ्चालन हुँदै आए पनि यस वर्षदेखि मात्रै अखिल नेपाल फूटबल संघ (एन्फा)को सदस्यता प्राप्त भएको छ । एन्फाको अस्थायी सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघ खोटाङले जिल्लाकै इतिहासमा पहिलोपटक गत असार–३ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता गरेको थियो ।

पहिलो पटक आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि बाक्सिला फुटबल क्लबले उचालेको थियो । फुटबल संघमा आबद्ध दश टोली सहभागी प्रतियोगितामा खोटाङ फुटबल एकेडेमीलाई शून्यका विरुद्ध दुई गोल गर्दै बाक्सिलाले उपाधि चुमेको हो ।