काठमाडौं । नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको टिम घोषणा गरेको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप २०२२ अन्तर्गत एसिया छनोटको तयारीका लागि दोस्रो चरणमा नेपालले ३१ सदस्यीय टोली घोषणा गरेको हो ।
यसअघि असार पहिलो साताबाट सुरु भएको प्रशिक्षणमा सहभागी ३६ जनामध्ये ५ जनाले भने दोस्रो चरणमा स्थान बनाउन सकेनन् । प्रशिक्षक योहान कालिनले मंगलबार कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङलाई बाहिर राख्दै दोस्रो चरणको टोली घोषणा गरेका हुन् ।
दोस्रो चरणमा यसअघि कुवेत र चाइनिज तेइपेइविरुद्ध चोटका कारण टोलीमा नरहेका फरवार्ड बिमल घर्तिमगरले निरन्तरता पाएका छन् । विमल हाल माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका छन् । फिफा वरियतामा एसियाको शीर्ष ३४ भित्र रहेपछि नेपालले सिधैं यसपटक एसियाली छनोटको दोस्रो चरणमा प्रवेश पाएको हो । दोस्रो चरणमा नेपाल समूह बीमा छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् ।
एसिया छनौटमा सहभागी ४० टोलीलाई ८ समूहमा बाडिएको छ । समूहको शीर्ष टोली सिधैं एसिया छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछ । यस्तै समूहको उत्कृष्ट चार उपविजेता टोलीले पनि अन्तिम चरणमा प्रवेश पाउनेछ । होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले दशरथ रंगशाला नबनेका कारण पहिले अवे खेल खेल्दै पछि होम खेल खेल्ने प्रस्ताव गरेको थियो । अन्य २ देशले नेपालको उक्त प्रस्ताव स्वीकार गरेपनि कुवेतले भने नगर्दा नेपालको होम र अवे दुवै खेल कुवेतमा नै हुने भएको छ ।
नेपालले भदौ १९ गते कुवेतविरुद्धको होम खेल दशरथ रंगशाला नबनेकै कारण कुवेतमै खेल्नेछ । यस्तै भदौ २४ गते चाइनिज ताइपेईविरुद्धको होम खेल पनि ताइपेईमै हुनेछ । त्यस्तै, चैत १३ मा ताइपेई र जेठ २२, २०७७ मा जोर्डनविरुद्ध नेपालले घरेलु मैदानमा खेल्ने छ । अष्ट्रेलियाविरुद्ध असोज २३ (अवे) र चैत १८ (होम) का खेल भने यथावत् छन् ।
दोस्रो चरणमा घोषित ३१ सदस्यीय टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, एलन न्यौपाने, विकेश कुथु र विशाल श्रेष्ठ छन् । यस्तै रक्षकमा विराज महर्जन, सरोज दाहाल, रेजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र विमल पाण्डे छन् ।




















