चुनावअघि एनओसीको विधान संशोधन

काठमाडौं । चुनावको एक महिनाअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विधान संशोधन गर्दै कार्यसमिति बढाउने निर्णय गरेको छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको विशेष साधारण सभामा संघका प्रतिनिधि १९ र एक परिवक्षकको उपस्थित थियो । 

एनओसीको सोमबार बसेको विशेष साधारण सभाले कार्यसमितिमा दुई सदस्य थप्दै १९ सदस्यीय बनाउने निर्णय गरेको छ । एनओसीमा यसअघि १७ सदस्यीय कार्यसमिति रहँदै आएको थियो । विशेष साधारणले साधारण सभाले एक उपाध्यक्ष र तीन सचिव थपेको हो । यस्तै सदस्य संख्या भने ९ बाट ७ मा झारिएको छ । साधारण सभाको निर्णय अनुसार अब एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सहमहासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य रहनेछन् ।

बैठकले आगामी भदौ २० गते नयाँ नेतृत्वका लागि चुनावी साधारण सभा गर्ने निर्ण गरेको छ । उक्त मिटीमा निर्वाचन गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिमा पत्राचार गरिसकेको एनओसीका सहायक महासचिव राजीव श्रेष्ठले जानकारी दिए ।

बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन् । उक्त समयमा चुनाव भए एनओसीले नेपालमा आगामी मंसिरमा आयोजना हुने १३ औं दणिण एसियाली खेलकुदअघि नयाँ नेतृत्व पाउने भएको छ ।

यस्तै एनओसीले नेपाल गल्फ संघलाई एनओसीको एसोसिएट सदस्यको मान्यता दिएको छ । उसलाई पनि नयाँ निर्वाचनमा मताधिकार दिइएको हो । योसँगै अब एनओसीको मताधिकार प्राप्त खेलहरूमा फुटबल, कबड्डी, लनटेनिस, एथलेटिक्स, टेबल टेनिस, आर्चरी, बास्केटबल, ब्याडमिण्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्याष्टिक, हृयाण्डबल, हक्की, जुडो, र्याफटिङ एण्ड केनोइङ, शुटिङ, स्की, पौडी, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, गल्फ र कराते महासंघ भएका छन् ।

यस्तै विशेष साधारण सभाले एक मानार्थ अध्यक्ष, दुई मानार्थ उपाध्यक्ष तथा एक सदस्य रहने व्यवस्थासमेत गरेको छ । संशोधित विधानअनुसार एनओसीका पूर्वअध्यक्षलाई मानार्थ अध्यक्षका रूपमा रहने वैधानिक व्यवस्था गरिएको छ ।