वासिंटन् । अमेरिकाको टेक्सास र ओहायोमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा २९ जनाको मृत्यु भएको छ । टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त गोलीकाण्डमा अरू २६ जना सख्त घाइते भएका छन् । गोली चलेका बखत उक्त सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावक मलमा जम्मा भएका थिए । प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।
ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए । एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले वाल्मार्ट बाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको बताउनुभयो । मेक्सिको सीमाबाट करिब आठ किलोमिटरभित्र उक्त वाल्मार्टको सपिङ मल रहेको थियो ।
एसोसिएटेड प्रेससँग कुरा गर्दै स्थानीय अधिकारीले गोली चलाउने व्यक्ति २१ वर्षीय प्याट्रिक क्रुसिएस रहेको बताएका छन् तर एल पासो प्रहरीले ती व्यक्तिको नाम औपचारिकरूपमा सार्वजनिक गरेको छैन । उनी अर्को अमेरिकी राज्य डल्लासबाट त्यहाँ आएको बताइएको छ । प्रहरीका अनुसार वाल्मार्टभित्र रहेका व्यक्ति सबैभन्दा बढी पीडित भएका छन् । प्रहरी प्रमुख अलेनले भने, ‘यहाँको दृश्य अति नै भयावह छ ।’ उनले गोली लागेका अरू २६ जनाको स्वास्थ्य अवस्था पनि निकै गम्भीर रहेको जानकारी दिए । प्रहरीले घाइतेका लागि रगतको अभाव रहेको सूचना सार्वजनिक गर्नु परेको थियो । प्रहरी र सेनाले तनाबमा रहेका नागरिकलाई सान्त्वना दिन प्रयास गरिरहेका थिए ।
‘अहिले यहाँको वातावरण आतंकित गर्ने किसिमको छ’, सैनिक स्वास्थ्यकर्मी अस्टिन जोन्सनले बताए । वाल्मार्टको महिलाको लत्ताकपडा किन्ने ठाउँमा दुई बच्चासँग रहेकी ३९ वर्षीया एड्रियाना क्वुजेदाले भने, ‘निरन्तर हिर्काएको आवाज आइरहेको थियो, मानौं कुनै निर्माणकार्य भइरहेको थियो ।×’ उनका १९ वर्षीया छोरी र १६ वर्षीय छोरा दुवैजना भूइँमा सुतेका थिए । त्यसपछि उनीहरू दुवै आपतकालीन ढोकाबाट बाहिर भागेका थिए । क्वुजेदाले भने, ‘भाग्यवश दुवैजना सकुशल बाहिर निस्किए ।’ उनले कालो कपडा लगाएका चार व्यक्तिले जथाभावी गोली चलाएको बताए । तर प्रहरीले घटनामा एक व्यक्तिमात्र रहेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भगवान तपाइँहरूको साथमा रहेको बताएका छन् । घटनाप्रति डेमोक्र्याट पार्टीका सबैजसो नेताहरूले एल पासो गोलीकाण्ड अमेरिकी इतिहासकै कालोधब्बा भन्दै अमेरिकी बन्दुक कानुनमा तत्काल संशोधन गर्नुपर्ने आवाज उठाएका छन् । एल पासोका मेयर डी मार्गोले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । संदिग्ध व्यक्ति क्रुसियसले फेसबुकमा लेखेको भनिएको सन्देशको पनि छानविन भइरहेको मेयर मार्गोले जानकारी दिए । उक्त सन्देशमा हिस्पानिक समुदायका व्यक्तिहरू अमेरिकामा ठूलो संख्यामा आप्रवासीका रूपमा प्रवेश गरेकोप्रति रोष प्रकट गरिएको छ ।
सन्देशमा हिस्पानिक समुदायका कारण आगामी राष्ट्रपतीय चुनावमा टेक्सास राज्य डेमोक्र्याट पार्टीको पोल्टामा पुग्ने पनि जनाइएको छ । सन् २००६ यता ११ पटक ठूलो जनसमुदायमाथि बन्दुक आक्रमण भएको छ । यी घटनामा संलग्न व्यक्ति प्रायः २१ वर्षको हाराहारीका रहेका छन् । सन् २०१९ मा मात्र भिडभाड स्थलमा भएका आक्रमणबाट ९६ जनाको ज्यान गइसकेको छ । एक साताभित्रै अमेरिकामा भएको यो दोस्रो गोलीकाण्ड हो । यसै साता गिलरोए गार्लिक मेलामा एक १९ वर्षीय युवाले जथाभावी गोली चलाउँदा तीनजनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।
यसैबीच ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकाण्डमा कम्तीमा नौजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकाण्डमा अरू १६ जना घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



















