पूर्वीयदर्शन धेरै फराकिलो छ । विज्ञानको स्रोत मानवदेखि सूक्ष्मभन्दा सूक्ष्म जीवात्माहरूको समेत पूजा गर्दै आफ्नो धर्म, संस्कृति र कलाको मौलिक संरक्षण गर्नु पूर्वीय चिन्तनको व्यापकता हो । यसले न केवल परम्परा धान्ने काम गरेको छैन, किन्तु जीवनपर्यन्त र त्यसपछिका दिनसम्म उज्यालो र सार्थक बनाउने प्रयाससमेत गरेको छ । श्रावणको आरम्भमै सुरु हुने चाड पर्वमध्ये अहिले हामी नागपञ्चमी विशेषमा आइपुगेका छौँ । श्रावण शुक्लपञ्चमीका दिन घर, घरवरिपरिको परिवेश र समग्र वातावरण पवित्र पार्ने क्रममा नागको पूजा गर्ने विशेष पर्व नै नागपञ्चमी हो ।
नागपञ्चमीका दिन नागको विशेष चित्र लेखेर दही, दूध, लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरूमा नाग टाँस्ने गरिन्छ । हरेक देवदेवीहरूको मूर्ति, चित्रहरूबाट जीवनका लागि आवश्यक नवऊर्जा प्राप्त हुन्छ । देव, देवी, मठ, मन्दिर, प्रवेश, पूजा, दर्शन चिन्तन मनन गर्नुको मूल उद्देश्य सकारात्मक सोच नै हो । हरेक मूर्ति, चित्र आदिबाट सकारात्मक र नकारात्मक दुवै ऊर्जा प्रवाह भइरहन्छ । सदैव सकारात्मक ऊर्जा प्राप्तिका लागि मठ, मन्दिर, मूर्ति चित्रको अवस्थामा पनि ध्यान दिनुपर्ने हुन्छ ।
पूर्वीय दर्शनले यस बारेमा उद्बोधन गर्दै नागको शिर भाद्र, आश्विन र कार्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर, पुस, माघमा नागको शिर दक्षिणतिर हुन्छ । त्यस्तै फागुन, चैत्र, वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने जेष्ठ, आषाढ, श्रावणमा नागको शिर उत्तरदिशातर्फ हुन्छ । नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ ।
समग्र भूमण्डललाई शेषनागले धारण गरेको कथन पनि पूर्वीय चिन्तनमा स्पष्ट उल्लेख छ । पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरैजसो पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ । आफ्ना वरिपरि नागको सरेस भइरहने र बेला बखत पूजा गर्नाले अग्निभय, प्रकोप, चट्याङ, विद्युतीय विस्फोटक आदिको समस्या हँुदैन । सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरूको राजा भनिन्छ ।
जहाँ नागहरू हुँदैनन् त्यहाँ पानी हुँदैन । पानीविना कुनै जीवात्मा बाँच्तैन । घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ किनकि नाग खुशी भए लक्ष्मी (धन) को वर्षा हुन्छ । सुख, समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्तन गर्नुपर्ने हुन्छ । कृषिप्रधान मुलुक हाम्रा गाउँबस्तीहरूमा धान रोपाइँ गर्दा पनि नागको पूजा गर्ने चलन अहिलेसम्म पनि छँदैछ ।
हिन्दू परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रूपमा मानिन्छ । पाञ्चायन देवतामध्ये शिवको गलामा नाग, विष्णुको शैøयामा नाग, गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ । त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक नै हुन् । भगवान् श्रीकृष्णले बाल्यकालमा कालीय नागको दमन गरेकाले जीवनको उषाकाल वा किशोर अवस्थामै विषतुल्य प्रदूषणलाई हटाइसक्नुपर्ने संकेत प्राप्त हुन्छ भने सत्ययुगको समुद्र मन्थनको प्रसंगले शेषनागको घाँटीमा रहेको हलाहल विष ओकेली सकेपछि मात्र अमृत प्राप्त भएको कथानक भेटिन्छ ।
यसको लाक्षणिक संकेत के हो भने द्वन्द्व र युद्धपछि निश्चय नै शान्त वातावरण हुनुपर्छ भन्ने पनि हो । आजको युगमा ठूला विश्वयुद्धपछि शान्तिको संकेत राष्ट्र संघको जन्म यसको थप उदाहरण हो । शेषसायी विष्णु सर्पमाथि सुतेर पनि शान्त र आनन्दित छन् अर्थात् समाजमा राग, द्वेष हुन्छ तथापि मानिसले विषम परिस्थितिमा पनि शान्त र आनन्दित हुनुपर्छ भन्ने संकेत हो । बुद्धको मुकुटमा सर्पका आकृति चिहृन देखिनुको संकेत पनि वरिपरि परिवेश अशान्त र विषालु भए पनि आफू सौम्य र शान्त बन्नुपर्छ भन्ने हो ।
ॐकार परिवारभित्रका जैन तीर्थकरहरूका शिरमा पनि सूर्य आकारका मुकुटहरू हुन्छन् । पानीका देवता मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला शोभित छ । काठमाडौंको टौदहस्थित कर्काेटक नागदहको पानी कटाएर काठमाडौं उपत्यकामा बस्ती बसाल्ने वीर र धार्मिक व्यक्तिहरूको इतिहास हाम्रैसामु छ । नागपञ्चमीका दिन टौदहमा नागदह मेला लाग्छ र त्यहाँ नागको विशेष पूजा हुन्छ ।
नागका विभिन्न विशेष नामहरू छन्– अनन्त, बासुकी, शेष, पट्टनाभ, कम्बल, धृतराष्ट्र, शफ्पाल, तक्षक, कालीय आदि । प्रत्येक दिन मानवले यी नागका नाम स्मरण ग¥यो भने जीवनमा कहिल्यै सर्पको भय हुँदैन । सर्पहरू विषालु पनि हुन्छन् । तपस्वी ऋषिका श्रापले द्वापरयुगमा तक्षक नागले डसेर चक्रवर्ती सम्राट परिक्षितलाई देहान्त गरायो । आजभोलि हाम्रो मुलुकमा पनि प्रायः तराई क्षेत्रमा सर्पदंश हुने गरेको देखिन्छ । कतिपय व्यक्तिले ज्यान पनि गुमाएका छन् । यसतर्फ भने हामी सतर्क रहनुपर्छ ।
नाग खुशी हुँदा संरक्षण दिन्छन् । रिसाउँदा घरै पल्टाउन पनि सक्छन् । त्यसैले हरेक घरको जग हाल्दा घर सर्दा नागको विशेष स्थान छुट्याएर पूजा गर्ने चलन रहेको छ । नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरूप नागदम्पती बनाउने, गाईको दूध, कपासको प्यूरी, तिल, लाबा, चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरू बढी खुशी हुन्छन् । नागको पूजा गर्ने चलन वैदिककालमै सुरु भएको हो ।




















