श्रीलंकाद्वारा शृंखलामा क्लिन स्विप

ढाका । श्रीलंकाले अलराउण्ड टिम प्रदर्शन गरेपछि तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)मा बंगलादेशविरुद्ध १ सय २२ रनको जित हात पार्दै ३ खेलको शृंखलामा क्लिन स्विप गरेको छ । श्रीलंकाले पहिलो खेल ९१ र दोस्रो खेल ७ विकेटले जितेको थियो । म्यान अफ द म्याच एञ्जिलो म्याथ्युजको ८७ रन मद्दतमा तेस्रो खेलमा बुधबार पहिले ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो । जवाफमा बंगलादेश ३६ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा रोकियो ।

बंगलादेशका सौम्य सरकारले ६९ रनको पारी खेले । ८६ बल खेलेका उनले ५ चौक र १ छक्का प्रहार गरे । यस्तै ताइजुल स्लाम २८ बलमा ५ चौका र १ छक्का सहित ३९ रनमा अविजित रहे । त्यसबाहेक बंगालदेशी ब्याट्सम्यानहरूको प्रदर्शन सम्झन लायक रहेन् । उसका ७ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

दासुन सानाकाले उत्कृष्ट बलिङ गर्दै बंगलादेशको मध्यक्रम ध्वस्त भएका थिए । ६ ओभरमा २७ रनमात्रै दिएर उनले ३ विकेट लिए । यस्तै लाहिरू कुमारा र कासुन राजिथाले समान २–२ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो । उसका एन्जिलो म्याथ्युजले ८७ रन जोडे । ९० बलमा उनले ८ चौका र १ छक्का प्रहार गरे । म्याथ्युज शृंखलाको म्यान अफ द सिरिजसमेत चुनिए । त्यस्तै श्रीलंकाका कुशल मेण्डिसले ५८ बलमा ५ चौका र १ छक्का सहित ५४, कप्तान दिमुथ करुणारत्ने ४६, कुशल परेरा ४२ र दासुन शनाकाले ३० रन जोडे । बंगलादेशका लागि शैफुल स्लाम र सौम्य सरकारले समान ३–३ विकेट लिए ।