क्वालालम्पुर (मलेसिया):= नेपाल र मलेसियाबीच सूचना प्रविधि, डिजिटल सुरक्षा र ५ जी (5G) सेवाको विस्तारमा आपसी सहकार्य बढाउने सहमति भएको छ। कतरको राजधानी दोहामा आयोजित ‘अन्तर्राष्ट्रिय दूरसञ्चार संघ’ (ITU) को सम्मेलनका क्रममा दुई देशका सञ्चारमन्त्रीबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो सहमति जुटेको हो।
भेटवार्तामा नेपालका सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिना र मलेसियाका सञ्चारमन्त्री दातुक सेरी फहमी फदज़िल सहभागी हुनुहुन्थ्यो। छलफलका क्रममा दुवै देशले आधुनिक दूरसञ्चार प्रविधि, स्याटेलाइट सञ्चार, साइबर सुरक्षा तथा डिजिटल रूपान्तरणका अनुभव आदानप्रदान गर्ने विषयमा विशेष जोड दिएका छन्।
मलेसियाले ५ जी प्रविधि विस्तारमा हासिल गरेको सफलता र अनुभव नेपालको डिजिटल पूर्वाधार विकासका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ। भेटका अवसरमा मन्त्री तिमिल्सिनाले मलेसियाली समकक्षीलाई नेपालको परम्परागत काष्ठकलाको नमुना (आँखीझ्यालको प्रतिकृति) मायाको चिनोस्वरूप प्रदान गर्नुभएको थियो।




















